२९ चैत, काठमाडौं । नेकपा एमालेले संविधान संशोधन बिधेयकको लफडामा नपर्न सरकारलाई सुझाव दिएको छ । साथै, उसले सीमांकन हेरफेरसहितको संविधान संशोधन बिधेयक फिर्ता हुनुलाई आफ्नो अडानको जित भएको ठहर गरेको छ ।
सरकारले गत मंसिर २४ गते संसदमा दर्ता गरेको ५ नम्बर प्रदेशको सीमांकन हेरफेर गर्ने प्रस्तावसहितको संविधान संशोधन बिधेयक मंगलबार फिर्ता लिएको थियो ।
बिधेयक फिर्ता भइसकेपछि एमाले संसदीय दलका कार्यवाहक नेता सुवास नेम्वाङले ढिलै भए पनि सरकारले बिधेयक फिर्ता गरेर ठीक कदम चालेको बताएका छन् । उनले भने, ‘यसका लागि धन्यवाद । यसबाट एमालेको अडान सही साबित भएको छ । जनताको सही अर्थमा जित भएको छ ।’
मधेसी मोर्चालाई आफैं मस्यौदा लिएर आऊ भने पनि र उनीहरुकै मस्यौदा पारित भए पनि निहुँ खोजिरहने भन्दै नेम्वाङले अनावश्यक झमेलामा नफस्न सरकारलाई आग्रह गरेका छन् ।