अत्यावश्यक उद्योग सञ्चालन गर्न, मजदुरको अत्यावश्यक स्वास्थ्य सुरक्षाको ग्यारेण्टी गर्नुपर्दछ- ट्रेड युनियन

२३ चैत ०७६, काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले अत्यावश्यक उद्योग सञ्चालन गर्न ट्रेड युनियनहरुले श्रमिकलाई काममा फर्कन आह्वान गरिदिन आग्रह गरेका छन् ।

आइतबार मन्त्री भट्टले नेपालका ठूला ट्रेड युनियनका नेताहरुलाई उद्योग मन्त्रालयमै छलफलका लागि बोलाएर यस्तो आग्रह गरेका हुन् ।

छलफलमा ट्रेड युनियनका नेताहरुले अत्यावश्यक उद्योगको काममा खटिने श्रमिकहरुलाई सरकार/रोजगारदाताले स्वास्थ्य सुरक्षाको ग्यारेण्टी, बिमाको व्यवस्था, अतिरिक्त भत्ता लगायत सेवा सुविधा साथै जहाँ काम गर्ने हो त्यहीँँ खाने–बस्ने व्यवस्था र कार्यस्थललाई क्वारेन्टाइनका रुपमा व्यवस्थित गरिएमा आफूहरुले मजदूरहरुलाई काममा फर्कन आह्वान गर्न सकिने जवाफ दिएका थिए ।

“सरकारले अत्यावश्यक उद्योग सञ्चालन गर्ने भए मजदुरको अत्यावश्यक स्वास्थ्य सुरक्षाको ग्यारेण्टी गर्नु पर्दछ” बैठकमा सहभागी मजदुरका एक नेता भने ।

ती नेताका अनुसार ट्रेड युनियनका नेताहरुले शर्त राखेपछि उद्योगमन्त्री भट्टले कोरोना रोकथाम उच्चस्तरीय समितिमा छलफल गरेर मात्र आफूले जवाफ दिन सक्ने बताएका थिए ।

उक्त छलफलमा ट्रेड युनियनका नेताहरुले देश संकटमा रहेकाले आफूहरु राज्यलाई सहयोग गर्न तयार रहेको भन्दै मजदुरहरुको आधारभूत स्वास्थ्य सुरक्षा लगायतको राज्यले ग्यारेण्टी गर्नु पर्नेमा जोड दिएका थिए ।

सो छलफलमा मन्त्री भट्टले औषधि र अत्यावश्यक खाद्य वस्तु तथा कृषि क्षेत्रमा काम गर्ने श्रमिकलाई काममा फर्काइदिन आग्रह दिएका थिए ।

उक्त छलफलमा पूर्वमाओवादी निकट अखिल नेपाल ट्रेड युनियन महासंघका अध्यक्ष जगत सिम्खडा, पूर्वएमाले निकट नेपाल ट्रेड युनियन महासंघका अध्यक्ष विनोद श्रेष्ठ, कांग्रेस निकट ट्रेड युनियनका महासचिव योगेन्द्र कुँवरलगायत संयुक्त ट्रेड युनियन समन्वय केन्द्रमा आवद्ध दशवटै मजदुर संगठनका नेताहरुको सहभागिता रहेको थियो ।