३ चैत, चितवन । सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले सरकारले गरेको त्रुटि नसच्याए मधेसी मोर्चा आन्दोलनमा जाने बताएका छन् ।
चितवनमा पत्रकारसँग कुरा गर्दै अध्यक्ष महतोले सरकार र मधेसी मोर्चाबीचमा भएको तीनबुँदे सहमति सरकारले कार्यान्वयन नगरेकाले सरकारलाई दिएको समर्थन मोर्चाले फिर्ता लिएको बताए ।
आफ्ना माग पूरा नगरी सरकारले जबर्जस्ती निर्वाचनको मिति घोषणा गरेको भन्दै उनले माग पूरा नभए निर्वाचनमा समेत असहयोग गर्ने बताए ।
सरकारले गरेको त्रुटि सच्याउनुपर्ने भन्दै उनले मधेसी मोर्चा आन्दोलनतर्फ जाने बताए । उनले आन्दोलन, बन्द–हडतालको विकल्पको खोजी भइरहेको पनि बताए । नेता महतोले जनताको बीचमा रहेको आन्दोलनलाई अघि बढाउने बताए ।
नेकपा एमालेको मेची-महाकाली राष्ट्रिय अभियानप्रति लक्षित गर्दै उनले तराईमा निषेधको राजनीति मधेसी मोर्चाले नगरेको बताए ।