सरकारले लियो, १२० जना प्रतिवादी भएको १५ वटा मुद्दा फिर्ता

१६ बैशाख ०७८, काठमाडौं । सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पार्वत गुरुङले मन्त्रिपरिषद्को पछिल्लो बैठकले सरकारी वादी भएको १५ वटा मुद्दा फिर्ता लिएको जानकारी दिएका छन् ।

मन्त्री गुरुङले जनता समाजवादी पार्टी (जसपा) को मागलाई सम्बोधन गर्दै १२० जना प्रतिवादी भएको १५ वटा मुद्दा फिर्ता लिएको जानकारी गराएका हुन् ।

उनले नेपाल सरकार वादी भई चलाएको फौजदारी मुद्दाहरु फिर्ता लिनेसम्बन्धी निर्देशिका २०७७ बमोजिम मुद्दा फिर्ता लिइएको बताए ।

जसपाले आफ्ना नेता तथा कार्यकर्तामाथिको मुद्दा फिर्ता लिन आग्रह गदै २०७ जनाको सूची गृहमन्त्रालयमा बुझाएको थियो । तीमध्ये १२० जनाको मुद्दा फिर्ता भएको छ ।