४ माघ ०७५, काठमाडौं । सरकारले विदेशमा लगानी गर्ने नेपालीहरुबारे छानविन गर्ने भएको छ ।
हालै खोज पत्रकारिता केन्द्र (खोपके)ले आईसीआईजेसँग मिलेर हालै सार्वजनिक गरेको नेपालिक्समा विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने कानुनी व्यवस्था विपरित ५५ नेपालीले विदेशमा लगानी गरेको सामाचार सञ्चार माध्यममा आएपछि सरकाले गम्भीतापूवर्क लिएकोे हो ।
संसदमा शुक्रबार भएको प्रश्नउत्तर कार्यक्रममा नेकपा संसद खगराज अधिकारी र कांग्रेस सांसद दिलेन्द्रप्रसाद बडूले नेपालिक्सबारे सरकारको धारणा मागेका थिए । जवाफमा प्रधानमन्त्री केपी शर्मा ओलीले भने, ‘केही सञ्चार माध्यमहरुमा आएका कुराहरु हामीले थाहा पाएका छौं । तीनको सत्यतथ्य के हो छानविन हुन्छ ।’
नाम मुछिएका केहीले खण्डन समेत गरेको भन्दै उनले भने, ‘अखबारमा आएका कुरालाई नै सत्य भन्न सकिन्न । चर्चामा आएका कुरालाई अनुमानका आधारमा असत्य भन्न पनि सकिन्न । उनयुक्त माध्यमबाट सरकारले आवश्यक खोजतलास छानविन गर्नेछ ।’
सम्पत्ति गैरकानुनी ढंगले बाहिर लैजानु वा विदेशी बैंकमा राख्नु उपयुक्त नभएको भन्दै उनले भने, ‘यसप्रति नेपाल सरकार सजग छ । बाँकी छानविनपछि भन्न सकिन्छ ।’