सरकारले सबै नागरिकलाई चैतभित्र निःशुल्क खोप दिने

२४ साउन ०७८, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको छ ।

आज सिंहदरबारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवा, गठबन्धनबाट शीर्ष नेताहरू नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, जनता समाजवादी पार्टी (जसपा)का अध्यक्षद्वय बाबुराम भट्टराई र उपेन्द्र यादव साथै राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संयुक्तरूपमा साझा कार्यक्रम सार्वजनिक गरेका हुन् ।

उक्त कार्यक्रम कार्यदल संयोजक रहेका नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले बाचन गरेर सुनाएका थिए ।

खड्काको नेतृत्वमा गठित गठबन्धनको ७ सदस्यीय कार्यदलले सरकारका न्युनतम साझा कार्यक्रम बनाएका थिए । कार्यदलमा कांग्रेसबाट ३, माओवादी केन्द्रका २ र जसपाका २ सदस्य रहेको थियो ।

सरकारको प्राथमिकतामा कोरोनाविरूद्ध चैतभित्र सबै नेपालीलाई निःशुल्क रूपमा खोप दिने रहेको छ । साथै, केपी शर्मा ओली नेतृत्वको सरकारका पालामा भएका स्वास्थ्य सामग्री खरिद अनियमितताबारे छानबिन गरी कारबाही गरिने पनि कार्यक्रममा उल्लेख छ ।