२४ मंसिर ०७७, काठमाडौं । नेपाली ट्रेड युनियनहरुको छाता संगठन संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसीसी) महिला समितिले तत्काल हिंसा र दुव्र्यवहार सम्बन्धी महासन्धि नं १९० अनुमोदन गर्न माग गरेको छ ।
महिला हिंसाविरुद्ध १६ दिने अभियानको दौरानमा बुधबार जेटियुसीसी महिला समितिले महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री लिलानाथ श्रेष्ठलाई ज्ञापन पत्र बुझाउँदै हिंसा र दुव्र्यवहार सम्बन्धी महासन्धि नं १९० अनुमोदन गर्न माग गरेको हो ।
कोरोनाले नेपालका श्रमिक वर्गमा नकारात्मक असर परेको भन्दै अझ दैनिक ज्यालादारी तथा अनौपचारिक महिला श्रमिक वर्गको अवस्था दयनीय रहेको भन्दै अबको श्रम बजारमा उत्पन्न हुने नकारात्मक प्रभावलाई समेत समयमै सम्बोधन गर्दै श्रमिकहरूको स्वास्थ्य, सुरक्षा र रोजगारीको सुनिश्चितता तथा अनौपचारिक/स्वरोजगार श्रमिकको समोचित आय गर्ने वातावरण निर्माणका लागि अविलम्ब नीति तथा कार्यक्रम निर्धारण गर्न जरुरी रहेको ज्ञापन पत्रमा उल्लेख छ ।
“औपचारिक, अनौपचारिक तथा सार्वजानिक क्षेत्रमा कार्यरत महिला तथा बालबालिकाहरु काम र कामको शिलशिलामा जोडिने स्थलहरुमा विभिन्न कारणले शारिरिक र मानसिक हिंसाले गर्दा रोजगारीको हक तथा मर्यादित जिवनयापनको अधिकारबाट बंचित भईरहेका छन्, ज्ञापन पत्रमा भनिएको छ, “अन्तर्राष्ट्रिय श्रम सम्मेलनको १०८औं सत्रले, जुन २०१९ मा हिंसा र दुर्व्यवहार सम्वन्धी महासन्धि नं १९० पारित गरेको छ । नेपालले तत्काल हिंसा र दुव्र्यवहर सम्वन्धी महासन्धी नं १९० अनुमोदनको लागि जोडदार माग गर्दै, माननीय मन्त्रीज्यू समक्ष महिला श्रमिकका समसामयीक बिषयहरुमा जेटियुसीसी महिला समिति ध्यानाकर्षण गराउँदछ ।”
“सबै तहका सरकारी तथा गैरसरकारी कार्यालयहरुमा यौनजन्य दुर्व्यवहार सम्बन्धि नीति बनाई हिंसामुक्त कार्यस्थल घोषणा गर्नुपर्ने, राष्ट्रिय श्रम आयोग गठन गरी एक तिहाई श्रमिक महिलाहरुको प्रतिनिधित्वको सुनिश्चतता गर्नुपर्ने” जेटीयुसीसी महिला समिति संयोजक विष्णु थापा मगरले हस्ताक्षर गरेको ज्ञापन पत्रमा उल्लेख छ ।”