१२ बैशाख ०७४, काठमाडौं । स्वास्थ्य मन्त्रालयमा पाँचौं तहदेखि एघारौं तहसम्मका ८८९ सरकारी चिकित्सक तथा स्वास्थ्यकर्मीले निजी स्वास्थ्य संस्थामा काम गर्न अनुमतिका लागि निवेदन दिएका छन् ।
पाँचौँ तहमा १०४, छैटौँ तहमा ३२७, सातौँ तहमा ४८, आठौँ तहमा १८३, नौ तहमा ८२, दशौँ तहमा ५५ र एघारौँ तहमा ३४ जना चिकित्सक तथा स्वास्थ्यकर्मीले निजी स्वास्थ्य केन्द्रमा काम गर्न पाउँ भनेर निवेदन दिएको चिकित्सा महाशाखाले जानकारी दिएको छ ।
सरकारी चिकित्सक र स्वास्थ्यकर्मीलाई निजी स्वास्थ्य संस्थामा काम गर्न सरकारले स्वास्थ्य मन्त्रालयको अनुमति लिनुपर्ने अनिवार्य व्यवस्था गरेपछि देशभरका चिकित्सक तथा स्वास्थ्यकर्मीले अनुमतिका लागि निवेदन दिएका हुन् ।
मन्त्रालयका चिकित्सा महाशाखाका निर्देशिक डा.भोलाराम श्रेष्ठले अहिलेको दर्ता भएकाको सङ्ख्या मन्त्रालयमा दर्ता भएकाको भएकाले विभाग तथा क्षेत्रीय कार्यालयमा निवेदन दिन सकिने व्यवस्था गरिएको जानकारी दिए ।
सरकारले कार्यालय बाहेकको समयमा आफू कार्यरत स्वास्थ्य संस्थाको काममा बाधा नपुग्ने गरी निजी अभ्यास गर्न चैत मसान्तभित्र स्वीकृतिका लागि स्वास्थ्य मन्त्रालय चिकित्सा महाशाखामा निवेदन दिने सूचना निकालेको थियो ।
सरकारी स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीले अनिवार्य पालना गर्नुपर्ने सेवा शर्तसम्बन्धी निर्देशन, २०७३ माघ ६ गते मन्त्रिपरिषद्बाट पारित भएकाले कर्मचारीले सरकारको पूर्वस्वीकृति नलिई काम गर्न नपाउने भएपछि अनुमति लिनुपर्ने भएको हो । यसमा तह नै उल्लेख नगरी ५६ जनाले पनि अनुमतिका लागि निवेदन दिएका छन् ।
दर्ता भएका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई मन्त्रालयले परिचय नम्बर दिनेछ, सोही आधारमा उनीहरुले निजी स्वास्थ्य संस्थामा काम गर्न पाउने व्यवस्था मिलाइने मन्त्रालयले जनाएको छ ।