१३ फागुन ०७५, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र आन्दोलनरत सरकारी चिकित्सक संघबीच भएको वार्ता निष्कर्ष विहीन भएको छ ।
सोमबार स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र कुमार यादव र आन्दोलनरत सरकारी चिकित्सकबीच भएको वातामा कुनै सहमति हुन नसकेको सरकारी चिकित्सक संघका अध्यक्ष डाक्टर दिपेन्द्र पाण्डेले जानकारी दिए ।
अध्यक्ष पाण्डेका अनुसार स्वास्थ्य राज्यमन्त्रीले सरकारी डाक्टर समस्यामा परेको र यो विषय समाधान गर्नुपर्ने पक्षमा भए पनि कुन प्रक्रियाबाट गर्ने भन्नेमा निर्णय दिन नसकेकाले वार्ता निश्कर्षमा नपुगेको बताए ।
तर, मन्त्रालयले चिकित्सकको माग जायज भएको बताएपनि निकासको बाटो तय हुन नसक्दा वार्तामा निष्कर्ष विहिन भएको बताएको छ ।
कर्मचारी समायोजनको विषयमा विरोध जनाउँदै आएको सरकारी चिकित्सक संघले माग सम्बोधनको लागि आइतबारदेखि लागू हुने गरी सरकारलाई ७२ घण्टे अल्टिमेटम दिएको छ ।
मंगलबारसम्म माग सम्बोधन नभए बुधबारदेखि आकस्मिकबाहेकका सबै सेवा बहिस्कार गर्नेदेखि लिएर बुधबार नै पर्ने स्वास्थ्य सेवा दिवसको कार्यक्रम पनि आफूहरुले बहिस्कार गर्ने बताएको छ ।
त्यसैगरी कर्मचारी समायोजनका सम्बन्धमा सरकारी चिकित्सकहरुले गरेको आन्दोलनप्रति नेपाल चिकित्सक संघले ऐक्यवद्धता जनाएको छ ।
सोमबार चिकित्सक संघले विज्ञप्ति जारी गर्दै सरकारी चिकित्सकको आन्दोलनमा ऐक्यवद्धता जनाएको हो ।