१५ बैशाख ०७७, काठमाडौं । नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीको संयुक्त बैठकले वर्तमान सरकार सर्वसत्तावादतर्फ अग्रसर भएको तर कोरोना संकटमा राहत र ठोस योजना दिन नसकेको बताएको छ ।
सोमबार कांग्रेस केन्द्रीय कार्यालयमा कांग्रेस सभापति शेरबहादुर देउवा, समाजवादीका उपेन्द्र यादव, राप्रपाका प्रकाशचन्द्र लोहनी लगायतका नेताहरुको उपस्थितिमा बसेको संयुक्त बैठकले सरकारमा स्वेच्छाचारी र सर्वसत्तावादी प्रवृत्ति देखिएको भन्दै एकतावद्ध भई संघर्ष गर्ने बताएको हो ।
सरकारले लोकतान्त्रिक मूल्य र मान्यतालाई तहसनहस गरी अधिनायकवादी उद्देश्य प्राप्तिका लागि सरकारको समेत संलग्नतामा सांसद डा.सुरेन्द्र यादव काण्डले नेपाली जनता आक्रोशित भएको समेत बैठकपछि जारी संयुक्त वक्तव्यमा उल्लेख गरिएको छ ।
यसैगरी लकडाउनको अवधिमा आवश्यक राहत र ठोस कार्ययोजना सरकारले दिन नसकेको भन्दै कोरोना भाइरसको यथार्थस्थिति पत्ता लगाउन परीक्षणमा असाधारण ढिलासुस्ती भएको समेत वक्तव्यमा उल्लेख छ ।