२ बैशाख ०७४, काठमाडौं । नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य किरणले सर्वोच्च अदालतले बालकृष्ण ढुंगेललाई पक्राउ गर्न दिएको आदेशले पार्टीको ध्यानाकर्षण भएको जनाएको छ ।
अध्यक्ष किरणले जनयुद्धकालीन मुद्दा ब्युँझाएर सर्वोच्च अदालतले पूर्व सभासद बालकृष्ण ढुंगेललाई ७ दिने पक्राउ पुर्जी जारी गरिएको भन्दै पार्टीको ध्यानाकर्षण भएको जनाएको हो ।
‘बृहत शान्तिसंझौताअनुसार जनयुद्धकालीन मुद्दाहरु राज्यको तर्फवाट तत्काल फिर्ता लिइनु पर्नेमा झण्डै दश वर्ष्वितिसक्दा पनि सो नभएको र सत्यनिरुपण मेल मिलाप गर्नका लागि भनी दुईवटा आयोगको कानुनी व्यवस्था गरिएकोमा त्यस अनुसार पनि न गरिएको यथार्थ स्पष्ट नै छ’ अध्यक्ष मोहन वैद्य किरणले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
बृहत् शान्ति संझौताको गंभीर उल्लघन हुँदा पनि त्यस प्रति राज्य मूकदर्शक रहनु र त्यसवारे कुनै पनि पहल नगरिनु दुःखद विडम्वनाको विषय भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
विज्ञप्तिमा मार्फत वैद्यले बृहत शान्ति संझौता अनुरुप जनयुद्धकालीन मुद्दाहरुको अविलम्व खारेजी र बाँकी मुद्दा आयोग मार्फत् मेलमिलाप गर्न माग गर्दै जनयुद्धको नेतृत्व गरेको एउटा हिस्सा सरकार प्रमुख हुनु र जनयुद्धमा संलग्न भएका कार्यकर्ताहरु यसरी उत्पीडित बन्नु गम्भीर चिन्ताको विषय भएको समेत विज्ञप्तिमा उल्लेख गरिएको छ ।
बालकृष्ण ढुंगेलले अदालतको अवहेलना गरेको भन्दै परेको मुद्दामा सर्वोच्चले बिहीबार सुनुवाई गर्दै ढुंगेललाई ७ दिन भित्र पक्रन प्रहरीलाई निर्देशन दिएको थियो ।
ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्यामा संलग्न रहेको आरोपमा सर्वोच्च अदालतले ढुंगेललाई दोषी ठहर गर्दै जेल सजाय सुनाएको छ ।
तर अदालतलाई नै चुनौती दिँदै ढुंगेल खुल्लम खुल्ला हिँडेको भन्दै प्रहरी प्रशासनको आलोचना भएको छ ।