८ पुस ०७७, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराको एकल इजलासले बुधबार प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका १२ रिटहरु संवैधानिक इजलासमा पेश गर्ने आदेश दिएको छ ।
प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेपछि सर्वोच्चमा परेका १२ रिटहरुको शुक्रबार संवैधानिक इजलासमा सुनुवाई सुरु हुने भएको हो ।
प्रधानन्यायाधीश जबराको एकल इजलासले गरेको आदेशमा भनिएको छ, ‘यस निवेदनमा उठाइएको विषयवस्तु नेपालको संविधानको धारा ७६ (१), (७) र धारा ८५ को व्याख्यासँग सम्बन्धित भएकाले प्रस्तुत निवेदन नियमअनुसार गरी संविधानको धारा १३७ (३) वमोजिम संवैधानिक इजलाससमक्ष पेश गर्नू ।’
अब यी रिटमाथि विपक्षीहरुको जवाफ आएपछि केही दिन पक्ष–विपक्षमा बहस पैरवी भई अदालत एउटा निर्णयमा पुग्नेछ ।