सहकारी बचत दुरुपयोगमा संलग्न व्यक्ति राष्ट्रिय सहकारी बोर्ड सदस्य नियुक्त

९ असोज ०८१, काठमाडौं । सरकारले सहकारी ठगीमा संगठित रूपमै लागेका व्यक्तिलाई राष्ट्रिय सहकारी विकास बोर्ड सदस्य नियुक्त गरेको छ ।

गोर्खा सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ हुँदै संगठित रूपमा सहकारी ठगीमा संलग्न रहेका डम्बरबहादुर (डीबी) बम्जन तामाङ र उनका भाइ ज्ञानबहादुर बम्जन तामाङको परिवारकी संगीता तामाङलाई सरकारले सहकारी विकास बोर्ड सदस्य नियुक्त गरेको हो ।

बम्जन परिवारले फैलाएको सहकारी ठगी जालोका एक प्रमुख पात्र संगीतालाई सरकारले सहकारी बचत रकम दुरुपयोग र अपचलनमा अनुसन्धान अगाडि बढाउनुपर्नेमा उल्टै सहकारी विकास बोर्ड सदस्य नियुक्त गरेको हो ।

संगीता हाल युनाइटेड गोर्खा बचत तथा ऋण सहकारी संस्थाको अध्यक्ष छिन् । उनलाई २ असोजमा सरकारले सहकारी बोर्ड सदस्य नियुक्त गरेको हो ।

संगीता डीबी बम्जन र ज्ञानबहादुर बम्जनकी भान्जी हुन् । उनकी आमा हेमकुमारी तामाङ २०७४ को स्थानीय चुनावमा नेपाली कांग्रेसबाट उम्मेदवार भएर ओखलढुंगा मोलुङ गाउँपालिका उपाध्यक्ष निर्वाचित भएकी थिइन् । संगीताले सुरुदेखि नै मामा डीबी बम्जनको सहयोगी भएर सहकारीमा काम गर्दै आएकी थिइन् ।

३१ भदौमा सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले सहकारी ठगीमा बम्जन परिवारको पूरै जालो सार्वजनिक गरेको थियो । सहकारी ठगी जालो फैलाउने क्रममा डीबी बम्जनको निकट सहयोगी भएर काम गरेकी संगीतालाई सरकारले सहकारी विकास बोर्ड सदस्य नियुक्त गरेको हो ।