रामबाबु मेहता
१२ जेठ ०७४, बारा । यही जेठ ३१ गते हुने भनिएको स्थानीय तह निर्वाचनमा बाराको जीतपुर सिमरा उप–महानगरपालिका १४ मा वडाध्यक्ष पदमा रोचक भिडन्त हुने भएको छ ।
यो वडाबाट अध्यक्ष पदको उम्मेदवारमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रले उम्मेदवारको अन्तिम टुङ्गो लगाइसकेका छन् । दुबै पार्टीले छनौट गरेका वडाध्यक्षका उम्मेदवार सहोदर दाजुभाइ हुन् ।
नेकपा एमालेले जीतपुरसिमरा उपमहानगरापालिका १४ नम्बर वडाको अध्यक्षमा नारायण बर्तौला उम्मेदवार हुने घोषणा गरिसकेको छ भने माओबादी केन्द्रले पनि सोही वडामा रामशरण बर्तौलालाई उम्मेदवार बनाउने घोषणा गरिसकेको छ ।
यी दुई दाजुभाइ बीचको रोचक भिडन्त आसन्न स्थानीय तह निर्वाचनमा देखिने निश्चित भएको छ ।
एमाले र नेकपा माओवादी केन्द्रले ३१ बैशाखकै निर्वाचनलाई लक्षित गरेर उम्मेदवारको टुङ्गो लगाएका थिए । तर, निर्वाचन दुई चरणमा हुने भएपछि पनि पहिल्यै छनौट भइसकेका उम्मेदवारमा हेरफेर नहुने एमाले र माओवादी केन्द्रले जनाएको छ ।
नेकपा एमाले बाराका प्रचार विभाग प्रमुख मनोज पौडेलले पहिल्यै सर्वसम्मत चयन भएका उम्मेदवारहरु नै आसन्न निर्वाचनको उम्मेदवार रहने बताएका छन् ।
‘चुनाब सरे पनि उम्मेदवारमा फेरबदल हुँदैन, नारायणजी नै हाम्रो उम्मेदवार हुनुहुन्छ, उम्मेदवार चयनका क्रममा उहाँनै सर्वसम्मत हुनुभएको हो’ पौडेलले भने ।
उता नेकपा माओवादी केन्द्रले पनि आफ्नो उम्मेदवारमा फेरबदल नहुने जनाएको छ । माओवादी केन्द्रका केन्द्रिय सदस्य राजन पौडेलले निश्चित भइसकेका उम्मेदवारहरु फेरबदल नहुने जानकारी दिए ।
पौडेलले भने, ‘विभिन्न वडामा यस अघि नै छनौट भइसकेका उम्मेदवारहरु नै दोस्रो चरणको चुनावमा हाम्रा उम्मेदवार रहनेछन ।’