सांसदहरुको आरोप : पछिल्ला दिनमा लगानी बोर्ड सुस्तायो

१० पुस, काठमाडौं । व्यवस्थापिका–संसद् अर्थ समितिको बैठकमा सांसदहरुले ठूला जलविद्युत् आयोजना एवम् भौतिक पूर्वाधारको विकासका लागि स्थापना भएको लगानी बोर्ड पछिल्ला दिनमा सुस्ताएको आरोप लगाएका छन् ।

आज अर्थ समितिको बैठकमा सांसदहरुले लगानी बोर्डले अगाडि बढाएका आयोजना प्रभावकारी रुपमा अगाडि बढ्न नसकेको भनी आपत्ति जनाएका हुन् ।

आयोजना विकासका लागि परियोजना सम्झौता सम्पन्न भएको लामो समय भइसकेको र निजी जग्गा प्राप्तिको काम करिब सम्पन्न हुने दिशामा अगाडि बढेको भए पनि सरकारले नै उपलब्ध गराउनुपर्ने वन तथा सरकारी जग्गा उपलब्ध नगराएको भन्दै सांसदले किन त्यस्तो भयो ? भन्ने प्रश्न गरेका थिए ।

पाँच महिनादेखि बोर्डको बैठक बस्न नसक्दा माथिल्लो कर्णाली, अरुण तेस्रोजस्ता महत्वपूर्ण आयोजनाको काम रोकिँदै आएको छ । बोर्डको बैठक बस्न नसक्दा वन क्षेत्रको जग्गा प्राप्त गर्ने विषयमा निर्णय हुन नसकेको जनाउँदै सांसदले बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीसँग जिज्ञासा राखेका थिए ।

सांसद शक्तिबहादुर बस्नेत, कमला पन्त, उदयशम्शेर राणा, विदुर सापकोटा र शेरबहादुर तामाङले बोर्डको काम प्रभावकारी हुन नसक्नुका कारण तत्काल जानकारीमा आउनु पर्ने बताए ।

बोर्डका प्रमुख कार्यकारी अधिकृत अधिकारीले समग्र तयारी गर्न समय लागेका कारण बैठक बस्न नसकिएको बताउँदै केही दिनभित्रै आवश्यक निर्णय लिइने बताए ।

तपाइको मत