सांसद प्रेम सुवालको प्रश्न : मोदीलाई पठाइएको पत्र कुन भारतीयले सार्वजनिक गर्नुपर्ने हो ?

२० भदौ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को  विशेष दूतकारुपमा भारत भ्रमण गएका उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधिमार्फत् समकक्षी नरेन्द्र मोदीलाई प्रचण्डले पठाएको पत्र सार्वजनिक गर्न सांसदहरुले माग गरेका छन् ।

suwal g

सोमबार व्यवस्थापिका संसदको विशेष समयमा बोल्दै नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले प्रधानमन्त्री प्रचण्डले भारतीय समकक्षी नरेन्द्र मोदीलाई पठाएको पत्र संसदमा सार्वजनिक हुनुपर्ने बताएका छन् ।

विद्रोही माओवादीको अध्यक्ष हुँदा सन् २००४ मा तत्कालिन भारतीय प्रधानमन्त्री अटल बिहारी बाजपेयीलाई लेखेको पत्र भारतकै प्राध्यापक एसडी मुनीले सार्वजनिक गरेको भन्दै सांसद सुवालले प्रश्न गरेका छन्- ‘अहिलेको पत्र कुन भारतीयले सार्वजनिक गर्नुपर्ने हो ?’

सांसद सुवालले मोदीलाई पठाइएको पत्रमा समग्र तराई मधेस एक वा दुई प्रदेश बनाएर संविधान संशोधन गर्ने र अंगीकृत नागरिकले पनि राष्ट्रपति लगायतका संवैधानिक पद पाउने आश्वासन दिइएको दावी गरे ।

व्यवस्थापिका संसदमा सरकारले भारतीय प्रधानमन्त्री मोदीलाई पठाएको पत्रबारे जानकारी गराउन पटक-पटक माग हुँदै आइरहेको भए पनि प्रधानमन्त्री प्रचण्ड र सरकार पनि सो विषयमा मौन बसेको छ । जसले सरकारको नियतमाथि प्रश्न उठ्नु स्वभाविक छ ।

तपाइको मत