सामाजिक-सांस्कृतिक स्वास्थ्यलाई सही राख्न योग आवश्यक रहेको प्रधानमन्त्रीको भनाई

७ असार ०७८, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सातौँ अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा सामाजिक तथा सांस्कृतिक स्वास्थ्यलाई पनि सही अवस्थामा राख्न योग आवश्यक रहेको बताएका छन् ।

कामचलाउ सरकारका प्रधानमन्त्री ओलीले सोमबार प्रधानमन्त्रीनिवास बालुवाटारमा योग दिवसका अवसरमा आयोजित कार्यक्रममा यस्तो बताएका हुन् ।

“मानवको शारीरिक स्वास्थ्य मात्र होइन, समाजलाई सांस्कृतिक, नैतिक र चारित्रिकरूपले सबल राख्नसमेत योग आवश्यक छ,” उनले भने, “कोभिड– १९ एक–डेढ वर्षमा पार होला, तर सामाजिक र सांस्कृतिक अधपतनको महामारीले चल्यो भने कैयौँ पिँढीसम्म दुःख पाइनेछ ।”

आज विश्वभर ‘योग फर वेल विइङ’को नारासहित अन्तर्राष्ट्रिय योग दिवस मनाइएको छ ।