सामुदायिक विद्यालयहरूमा म्याद गुज्रिएका औषधि !

२४ पुस, वीरगन्ज । जिल्ला जनस्वास्थ्य कार्यालय पर्साले सामुदायिक विद्यालयहरूमा म्याद गुज्रिएका औषधि पठाएको भेटिएको छ ।

medicin

जिल्ला जनस्वास्थ्य कार्यालयले स्वास्थ्य शिक्षा कार्यक्रमअन्तर्गत  दुई सय ४८ वटा सामुदायिक विद्यालयमा १४ लाख रुपैयाँ मूल्यको प्राथमिक उपचार बक्स पठाएको थियो ।

जनस्वास्थ्यले साउन २३ मा शिक्षा कार्यालय पर्सामा सामुदायिक विद्यालयमा वितरण गर्न खरिद गरेर विद्यालयमा पठाएका प्राथमिक उपचार बक्समा रहेका औषधिमध्ये पारासिटामोल ट्याब्लेटको सन् २०१६ अगस्ट र पेरिनोर्म मलमको म्याद नोभेम्बर २०१६ मै सकिएको छ । ब्यान्डेज, ग्लोब र साबुनको म्याद पनि ६ महिनाअघि सकिएको छ ।

ठोरी, भिस्वा, पोखरिया, जितपुर नौका टोला, बर्बा छटौली एवं वि श्रामपुर स्रोत केन्द्रमातहतका विद्यालयमा असोज पहिलो साता र श्रीपुर स्रोत केन्द्रअन्तर्गतका विद्यालयमा भने चार दिनअघि प्राथमिक उपचार बक्स पठाइएको जानकारी पर्साका जिल्ला शिक्षा अधिकारी केदार तिवारीले दिए ।

बक्समा म्याद गुज्रिएका औषधि रहेको गुनासो आएपछि औराहा पचगवा र त्रिजुद्ध स्रोत केन्द्रका विद्यालयमा अ‍ैषधिसहितको बक्स नपठाइएको उनले बताए ।

जनस्वास्थ्य कार्यालयले शिक्षा कार्यालयलाई प्राथमिक उपचार बक्स हस्तान्तरण गरेको साउन २३ को पत्रमा बक्सभित्र २५ प्रकारका औषधि एवं उपकरण रहेको उल्लेख छ । तर विद्यालयमा पठाइएका बक्समा भने १५ प्रकारका मात्र औषधि र उकरण रहेको भेटिएको छ ।

‘एउटा बक्समा पाँच हजार ६ सय ४५ रुपैयाँबराबरको औषधि र उपकरण हुनुपर्छ’, जिल्ला जनस्वास्थ्य कार्यालयका एक अधिकृतले भने, ‘तर विद्यालयमा पठाइएका बक्समा मुस्किलले एक हजार रुपैयाँबराबरको मात्रै औषधि र सामान राखिएका छन् ।’

पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेले विद्यालयमा वितरण गरिएका प्राथमिक उपचार बक्समा अनियमितता भएको खबर आफूले पनि पाएको र यसबारेमा छानबिन गरी दोषी कर्मचारीलाई कानुनी कारबाहीको दायरामा ल्याउने प्रतिबद्धता जनाए ।

तपाइको मत