सार्टुक बैठक सम्पन्न : अनौपचारिक क्षेत्रका श्रमिकहरुलाई औपचारिक आर्थिक क्षेत्रमा रुपान्तरण गरिने

जय कार्की/

काठमाडौं । नयाँ दिल्लीमा अगस्त २९ मा सुरु भई ३० तारिखका दिन सम्पन्न दक्षिण एशियाली ट्रेड युनियन महासंघ (सार्टुक)कोे गोष्ठीमा अनौपचारिक आर्थिक क्षेत्रमा कार्यरत श्रमिकहरुलाई औपचारिक आर्थिक क्षेत्रमा रुपान्तरण गर्ने लगायतको विषयमा छलफल भएको छ ।

गोष्ठीमा नेपालका प्रतिनिधिहरुले सामाजिक सुरक्षा ऐन र श्रम ऐन २०७४ ले नेपाली श्रमिकहरुको अधिकार निकै हदसम्म समेटेको विषयमा चर्चा गरेका थिए ।

यस्तै भारतीय मजदुर नेताहरुले मोदी सरकारले भारतीय मजदुरहरुको अधिकारमाथि अंकुश लगाउँदै गएको र बेरोजगारी समस्या हल गर्न नसकेको बताएका थिए साथै उनीहरुले नोभेम्वर महिनामा देशव्यापी हड्तालको तयारीमा गरिरहेको समेत बताएका थिए ।

बैठकले आईएलओको सिफारिस नम्बर २०४, सस्टनेबल डेभलपमेन्ट गोलको आठ नम्बर बुँदाको डिसेन्ट वर्क र बुँदा नम्बर १६ को समावेशी समाज निर्माणमा टेकेर मजबुत संगठनको निर्माण गरी सिफारिस नम्बर २०४ लागू गर्ने, औपचारिक तथा अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकहरुको सामाजिक सुरक्षाको लागि दर्ता प्रकृया संचालन गर्ने, त्रिपक्षीय संयन्त्र तथा सामाजिक सम्बादको कामलाई अघि बढाउने निर्ण गरेको छ ।

सो बैठकले आधारभूत शिक्षा, व्यवसायिक तालिम तथा शिप विकास लगायत व्यवसायजन्य सुरक्षालाई अघि बढाउने, जेण्डर समानता तथा मातृशिशु सुरक्षामा जोड दिनका लागि सबै क्षेत्रको कामलाई अघि बढाउने निर्णय समेत गरेको छ ।

बैठकमा सार्टुक महासचिव बस्नेतले अनुमोदनका लागि राखेको प्रस्तावहरु एक मतले पारित गरिएको छ । साथै, सार्टुकको मान्यताको लागि पुनः सार्क सचिवालयमा दवाव दिने त्यसका लागि सदस्य ट्रेड युनियनहरुले आ–आफ्नो देशका सरकारलाई पनि अनुरोध गर्ने सहमति भएको छ ।

भारतीय श्रमिक संगठनहरुले ३ दिने संघर्षको कार्यक्रम घोषणा गरेकोले सो कार्यक्रमप्रति ऐक्यवद्धता जनाउने र उस्तै प्रकारको कार्यक्रमको आयोजना गर्ने सहमति पनि भएको छ ।

बैठकमा एसिया प्यासिफिक क्षेत्र आईटियुसीका महासचिव शोया योशिदा, सार्टुकका अध्यक्ष तथा इन्टुक अध्यक्ष जि.सन्जिवा रेड्डी, सार्टुकका महासचिव लक्ष्मणबहादुर बस्नेत, आईटियुसी सिंगापुरका पि.हरिदर्शन, हिन्द मजदुर संघका अध्यक्ष हरभजनसिंह सिद्धु, महेन्द्र शर्मा, अशोक सिंह, उमा नागेन्द्र मर्णिको सहभागिता रहेको थियो ।

त्यस्तै बंगलादेशको ट्रेड युनियनहरुका प्रतिनिधिहरु इस्लाम अहमदि, सुकुर महमद, मुहमद हारुन, कमाल सिद्धिकी, साहीदुल्लाह बादल, अबुल खान श्रीलंकाका ट्रेड युनियनहरुका प्रतिनिधिहरु भेलायुथाम रुथीरादिपन, मरिमुत्त कथानको सहभागिता रहेको थियो ।

यसैगरी नेपाली ट्रेड युनियनबाट जय कार्की अन्टुफ, रमेश बडाल जिफन्ट, बिमला गैरे एनटियुसि, हिमालय खरेल साथै सार्टुक कार्यालयका इन्द्रदेव यादव र कृष्मा शर्मा लगायतको बैठकमा सहभागिता रहेको थियो ।

तपाइको मत