२९ माघ, काठमाडौं । सरकारले सिंहदरबारभित्र महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालय अगाडिको खाली जग्गालाई उद्यानको रुपमा विकास गर्ने गरी उद्यानमा रक्तचन्दन, श्रीखण्ड, रुद्राक्ष, बोधीचित्त, चाप, धुपी, राजवृक्ष, तेजपात लगायतका ५२ बिरुवा रोपेको छ ।
शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले विशेष प्रजातिका बिरुवा रोपेर ‘सिंहदरबारबाट सरसफाइ, हरियाली प्रवद्र्धन तथा बगैंचा व्यवस्थापन अभियान’ शुभारम्भ गरेको हो ।
शुभारम्भ कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले रक्त चन्दन, सूचना तथा सञ्चारमन्त्री शेरधन राईले चाप, वातावरणमन्त्री विश्वेन्द्र पासवानले रुद्राक्ष र मुख्यसचिव डा. सोमलाल सुवेदीले श्रीखण्डको बिरुवा रोपेका थिए । सरकारले मुलुकको केन्द्रीय प्रशासनिक निकाय रहेको सिंहदरबारलाई सरसफाइ र हरियाली बनाउन शुभारम्भ गरिएको बताएको छ ।
रक्त चन्दनको बिरुवा रोपी अभियानको शुभारम्भ गरेका प्रधानमन्त्री ओलीले पुराना र थोत्रा गाडीले सिंहदरबार कवाडिखाना, फाहोरमैला डम्पिङ साइट जस्तो भएको बताए ।
अभियानमा वन विभागले बिरुवा उपलब्ध गराउनुका साथै त्यसमा आवश्यक प्राविधिक सहयोग समेत गर्ने विभागका महानिर्देशक राजेन्द्रप्रसाद यादवले जानकारी दिए । बिरुवाको संरक्षण प्रधानमन्त्री कार्यालयले गर्ने जनाएको छ ।
आगामी चैत मसान्तसम्म सञ्चालन हुने सो अभियानमा सबै मन्त्रालयले र मातहतका निकायले आफ्नो परिसरमा यसरी नै वृक्षरोपण गर्नेछन् ।