२७ असार ०७५, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा‘बादल’ले यातायात क्षेत्रमा सिण्डिकेट फर्काउने कुरा अब सम्भव नरहेको स्पष्ट पारेका छन् ।
बुधबार नयाँ बसपार्क गंगबुमा युनाईटेड ट्रान्सपोर्ट भलाई एण्ड इन्भेस्टमेन्ट प्रा.लि.ले आयोजना गरेको ‘याताय क्षेत्रको विद्यमान अन्यौलता, चुनौती र समाधान ’ विषयक अन्तरक्रिया कार्यक्रममा गृहमन्त्री थापाले अझै सिण्डिकेट फर्काउने प्रयास भईरहेको भन्दै त्यो पुरा सम्भव नरहेको बताएका हुन् ।
गृहमन्त्री थापाले अहिलेपनि केही मुठिभर व्यवसायीको मात्रै एकाधिकार हुने, उनीहरुको समृद्धि हुने, यो क्षेत्रमा आउन खोजेका हजारौँ नयाँ व्यवसायीको बाटो रोक्ने गरी सिण्डिकेटलाई फर्काउने षड्यन्त्र भईरहेको बताउँदै यसबारे सरकार सचेत रहेको बताए ।
यातायातमा मात्रै नभई कृषि, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा सिण्डिकेटले जरा गाडेकोले देश विकासका लागि सिण्डिकेट बाधक रहेको बताउँदै उनले भने– ‘सिण्डिकेट रहेसम्म देशको विकास र समृद्धि सम्भव छैन, जनतालाई समृद्ध बनाउने जुन प्रतिवद्धता गरेका छौं, त्यो पुरा हुन सक्दैन ।’
गृहमन्त्री थापाले सिण्डिकेट हटाउने निर्णय यातायात व्यवसायी, मजदुर, यात्रु सबैका हितमा रहेकोले यसमा सबैले सहयोग गर्न आग्रह समेत गरे ।