सिद्धार्थनगरका मेयर पदका उम्मेदवार खान भन्छन् – अब नयाँ अनुहारलाई जिताउनु पर्दछ

रबिन्द्र प्रताप गुप्ता

भैरहवा । आसन्न दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा ने.क.पा.(माओवादी केन्द्र)का तर्फबाट सिद्धार्थनगर नगरपालिकामा मेयर पदका उम्मेदवार फैज अहमद खानले यस नगरपालिकाका मतदाताले अब नयाँ अनुहारलाई जिताउनु पर्ने बताएका छन् ।

माओवादी केन्द सिद्धार्थनगर समितिले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा खानले सो कुरा बताएका हुन् ।

यसैगरी उपमेयरकी उम्मेदवार कमला थापाले पनि नयाँ अनुहारलाई जिताउनु पर्ने बताउँदै यस अघिको स्थानीय निकायको निर्वाचनबाट धेरै नगरप्रमुखहरु आए पनि नगरको विकास हुन नसकेकाले माओवादी केन्द्रका उम्मेदवारहरुलाई जिताइ विकासको प्रत्याभूति गर्न आग्रह गरेकी छन् ।

मेयर पदका उम्मेदवार फैज अहमद खानले अहिलेसम्मका जनप्रतिनिधिले जनतालाई दास बनाउने काम मात्र गरेको बताए । उनले देशमा राजतन्त्रको अन्त्य भइसके पनि सिद्धार्थनगरमा राजसत्ताको अभ्यास गर्ने व्यक्तिहरु नै उम्मेदवार भएकोले त्यस्ता उम्मेदवारहरुलाई अब जनताले पहिचान गर्न आवश्यक रहेको बताए ।

त्यसैगरी उपमेयरकी उम्मेदवार थापाले अन्यायमा परेका उत्पीडित समुदायको पक्षमा आफू जहिले पनि उभिएकाले सिद्धार्थनगरका जनताले यस पटकको निर्वाचनमा माओवादी केन्द्रलाई जिताउने कुरामा विश्वस्त रहेको बताइन ।

तपाइको मत