
दलित एवं भूमिअधिकार आन्दोलनका अगुवा बलदेव राम / तस्बिर : देवराम यादव
१७ साउन ०७४, राजविराज । दलित एवं भूमिअधिकार आन्दोलनका अगुवा बलदेव रामको मंगलबार ७४ वर्षको उमेरमा निधन भएको छ ।
वि.सं. २००० सालमा सप्तरी जिल्लाको मधुपट्टीमा जन्मिएका राम लामो समयदेखि दलित अधिकारको पक्षमा संघर्षरत थिए । साथै मोही अधिकारको लागि संघर्ष गर्दै आएका उनी आफैं मोही थिए ।
उनले २०५६ साल असारमा सप्तरीको कञ्चपुरबाट उठेको सिनो बहिष्कार आन्दोलनको नेतृत्व गरेका थिए । बहुदल आएको १० वर्षपछि पनि सिरहा र सप्तरीलाई कार्य क्षेत्र बनाई सिनो नफाल्ने आन्दोलनको नेतृत्व गरेका थिए ।
उनले चमार जातिका मानिसहरुले गैरदलितको घरको सिनो फाल्ने काम गर्नुपर्दथ्यो । यो आन्दोलनपछि चमार जातिले सिनो फाल्ने काम हटेको छ ।
उनले २०६१ सालमा राष्ट्रिय भूमिअधिकार मञ्चको संस्थापक अध्यक्ष भएर आन्दोलनलाई देशव्यापी बनाउन अग्रणी भूमिका खेलेका थिए ।
भूमिअधिकारको क्षेत्रमा दर्जन भन्दा बढी पुरस्कार पाएका उनी २०६५ सालमा माओवादी नेतृत्वको सरकारको समयमा गठित भूमि सुधार आयोगका सदस्य समेत भएका थिए । उनको श्रीमती, ३ छोरी र २ छोरा छन् ।