२४ असोज ०७६, सिन्धुपाल्चोक । इन्द्रावती गाउँपालिकास्थित सिपाटारबाट काठमाडौँ जाँदै गरेको बा २ ख २७१५ नम्बरको यात्रु बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ ।
इन्द्रावती–१० को तिखु मोड भन्ने स्थानमा भएको बस दुर्घटनामा चालकसहित १४ जनाको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक माधवराज काफ्लेकाअनुसार सडकबाट करिब दुई सय मिटर तल खसेको बसमा सवार सात जनाको घटनास्थलमा, अन्यको अस्पताल लैजाँदै गर्दा र अस्पतालमा उपचारकाक्रममा मृत्यु भएको हो ।
दुर्घटनामा परेर बनेपा नगरपालिका–३ काभ्रेका चालक केदारनाथ महाजु, इन्द्रावती–९ का ४५ वर्षीय हिरा श्रेष्ठ, २५ वर्षीय बिनोद लम्साल, इन्द्रावती–१० का २९ वर्षीय रितेश आचार्य, पाँचखाल नगरपालिका–६ काभ्रेकी २२ वर्षीया संगिता मिजारको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक काफ्लले जानकारी दिए ।
यसैगरी उक्त दुर्घटनामा ललितपुरकी ४७ वर्षीया समिता श्रेष्ठ, मेलम्ची नगरपालिका–१३ का २० वर्षीय अनुश तामाङ, इन्द्रावती–१० का २३ वर्षीया मिना मगर, ३९ वर्षीय सुवास अधिकारी, ६ वर्षीय बालक सुमित पुर्कोटी, इन्द्रावती–९ की ४४ वर्षीया जुनादेवी लम्साल, बाह्रबिसे नगरपालिका –७ की अस्मिता श्रेष्ठ, गणेश तामाङको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ ।
क्षमता भन्दा बढी यात्रु बोकेको बस ओरालो सडकमा अनियन्त्रित भएर दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।
घाइतेहरूलाई हेलिकोप्टर र एम्बुलेन्सबाट अस्पताल पु¥याइएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायब उपरीक्षक दीपक गिरीकाअनुसार घाइतेमध्ये धुलिखेल सामुदायिक अस्पतालमा ६७ जना र शिर मेमोरियल अस्पताल बनेपामा १६ जना गरी ८३ जनाको उपचार भइरहेको छ । धुलिखेल अस्पतालमा उपचारपपछि थप उपचारका लागि एक बालकलाई काठमाडौँस्थित काठमाडौँ मेडिकल कलेजमा ‘रिफर’ गरिएको छ ।
नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, जनप्रतिनिधि साथै स्थानीयहरू मृतक र घाइतेको उद्धार खटिएका छन् ।
यसैबीच प्रदेश नं ३ का सामाजिक विकासमन्त्री युवराज दुलाल घाइतेको अवस्था बुझ्न धुलिखेलस्थित धुलिखेल सामुदायिक अस्पतालमा पुगेका छन् ।














