सिमलतालबाट खसेका बस र यात्रुहरुको खोजी कार्यमा भारतीय टोली परिचालन

५ साउन ०८१, चितवन । पहिरोसँगै त्रिशूली नदीमा सिमलतालबाट खसेका दुई बस र यात्रुहरुको खोजी कार्यमा आजदेखि १२ सदस्यीय भारतीय टोली परिचालन भएको छ ।

भारतीय नेशनल डिजास्टर रेस्पोन्स फोर्स (एनडीआरएफ) को १२ सदस्यीय टोली शनिबार घटनास्थल आइपुगेर खोजी तथा उद्दार कार्यमा परिचालन भएका हुन् ।

खोजतलासमा परिचालिन हुनुअघि भारतीय टोलीले जिल्ला प्रशासन कार्यालय चितवनमा प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवसहित सुरक्षा निकायका अधिकारीहरुसँग छलफल गरेको थियो ।

खोजतलासका लागि आएका एनडीआरएफका प्रतिनिधि कुनाल तिवारीले अब यथासक्य छिटो खोजतलासको काममा जुट्ने बताएका छन् ।

उनले धमिलो र उच्च वहाबका नदीमा खोजतलास कार्य भारतमा गरेको र नेपालका जस्तै नदी भारतमा पनि रहेकाले उस्तै प्रकृतिका नदीमा खोजतलास गर्न समस्या नहुने बताए ।

असार २८ गते शुक्रबार वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एञ्जल डिलक्स र काठमाडौँबाट गौर जान आउँदै गरेको बागमती प्रदेश ०३–२४९५ ख ००१ नम्बरको गणपति डिलक्स बस चितवनको सिमलतालमा खसेको पहिरोसँगै बगेर त्रिशूली नदीमा यात्रु बेपत्ता भएका थिए ।

उक्त बसमा सवार ६५ जनामध्ये तीन जना सकुशल निस्किएका थिए भने ६२ बेपत्ता भएका थिए । शनिबारसम्म २५ जनाको शव फेला पारिएको छ भने १७ जनाको सनाखत भएका छन् । अझै ३७ यात्रुको दुईवटै बसको अवस्था पत्ता लाग्न सकेको छैन ।