४ साउन ०७७, पर्सा । जिल्लाको ठोरी गाउँपालिकास्थित सीता गुफा नजिकै रहेको ४३६ नम्बरको सीमा स्तम्भ उखेलेर फालिएको अवस्थामा भेटिएपछि पहिलेकै स्थानमा गाडिएको छ ।
ठोरी गाउँपालिकाका प्रमुख पदमलाल श्रेष्ठ ‘पिएल’ले ४३६ नम्बरको पिलर शनिबार अपरान्ह २ देखि ३ बजेको समयमा करिब ९/१० मिटर तल फ्याँकिएको पाइएको बताउँदै राति ९ बजे सोही स्थानमा गाडिएको बताएका हुन् ।
गापा प्रमुख श्रेष्ठले उखेलिएको पिलरका विषयमा केहीबेर सीमाक्षेत्रमा नेपाल र भारतका नागरिकबीच विवाद समेत भएको बताए ।
‘पिलर उखेलेर फालिएको अवस्थामा भेटिएपछि दुबैतर्फका नागरिकबीच ठोरीक्षेत्रमा केहीबेर विवाद बढेर झडपकोस्थिति बनेको थियो,’ अध्यक्ष श्रेष्ठले भने, ‘बिवादले उग्ररुप नलिओस् भनेर भारततर्फका धमौरा पञ्चायतका मुखिया रामबिहारी महतोले भारतीय नागरिकलाई सम्झाएर लगे भने मैले नेपालतर्फबाट नाराबाजी गर्ने युवाहरुलाई सम्झाएर फर्काएँ, जसले झडपको स्थिति टर्यो ।’
अध्यक्ष श्रेष्ठकाअनुसार शनिबार राति करिब नौ बजेको समयमा नेपाल र भारतका सुरक्षाकर्मी बसेर पहिलेकै स्थानमा उखेलिएको पिलर गाड्ने कार्य सम्पन्न भएको थियो ।
‘शनिबार ठोरीवासीले सीता गुफा क्षेत्रमा पूजापाठ गरेका थिए । करिब दिउँसो साँढे १ बजेतिर पुजा सकिएको थियो, त्यतिबेलासम्म सीमा स्तम्भ उखेलिएको थिएन,’ श्रेष्ठले भने, ‘उखेलिएको उक्त पिलर दुबै देशका सुरक्षाकर्मीको उपस्थितिमा राति ९ बजे पहिलेकै स्थानमा गाड्ने कार्य सम्पन्न भएको छ ।’
उनले नेपाल–भारतबीच सीमा क्षेत्रमा विभिन्न सञ्चारमाध्यममा प्रचारप्रसार गरिएको जस्तो कुनै विवाद नरहेको स्पष्ट पार्दै अज्ञात समूहले उखेलेर फालेको पिलर यथास्थानमै गाडिसकेको हुँदा अनावश्यक विवाद सिर्जना गर्नु नहुने बताए ।
केहीदिन अघि प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान रामको जन्मभूमि अयोध्या ठोरीमा पर्ने उदघोष गरेसँगै पर्साको ठोरीस्थित सीता गुफा क्षेत्र चर्चामा छ ।