सुदूरपश्चिम प्रदेश सभामा एकीकृत समाजवादी र माओवादी केन्द्रको सांसद बराबरी

२० भदौ ०७८, काठमाडौं । सुदूरपश्चिम प्रदेश सभामा नेकपा एमालेका थप ३ सांसदले नेकपा एकीकृत समाजवादी रोजेसँगै नेकपा (माओवादी केन्द्र) र एकीकृत समाजवादीको सांसद संख्या बराबरी भएको छ ।

आइतबार दीर्घबहादुर सोडारी, प्रकाश रावल र तारा लामा तामाङले प्रदेश निर्वाचन कार्यालय पुगेर एकीकृत समाजवादीको पक्षमा सनाखत गरेपछि यसअघि १० जना रहेको एकीकृत समाजवादीको सांसद संख्या १३ पुगेको छ भने माओवादी केन्द्रको सांसद १३ जना रहेको थियो ।

प्रदेशसभामा सबैभन्दा ठूलो दल रहेको एमालेमा सभामुखसहित २५ सांसद रहेकोमा केपी शर्मा ओलीसमूहमा १२ सांसद मात्रै रहेका छन् ।

प्रदेश सभामा माओवादी केन्द्रको १४ सांसद थियो तर झपड बोहोरा एमाले प्रवेश गरेका कारण पदमुक्त भएका थिए ।

हाल प्रदेश सभामा नेपाली कांग्रेसका १२ सांसद छन् भने जनता समाजवादी पार्टीका २ र एक जना स्वतन्त्र सांसद छन् ।