सुरक्षा निकाय र सहकारीलाई ७५ वटै जिल्लामा पेट्रोल पम्प सञ्चालन गर्न दिइने

१९ असोज, काठमाडौं । सरकारले ११ वटा सरकारी संस्थान र सुरक्षा निकायका पम्प सञ्चालन रहेकोमा थप २० वटा पेट्रोल पम्प सञ्चालन गर्ने जनाउँदै सुरक्षा निकाय र सहकारीलाई मुलुकको ७५ वटै जिल्लामा पेट्रोल पम्प सञ्चालन गर्न दिने बताएको छ ।

सरकारले विभिन्न बाहनामा व्यवसायीहरुले कालोबजारी र हड्ताल गर्न थालेपछि बजारमा तेलको नियन्त्रण गर्न सरकारी पम्पको संख्या बढाउन तयारी थालेको हो ।

आपूर्ति मन्त्रालयका सह-सचिव सूर्यप्रसाद श्रेष्ठका अनुसार सुरक्षा निकाय र सम्बन्धित संस्थानहरु सहभागी रहेको आपूर्ति मन्त्रालयमा भएको बैठकमा प्रत्येक प्रदेशमा एक एकवटा यस्ता पम्पहरु खोल्ने र त्यसपछि सबै जिल्ला सदरमुकाम तथा रोजमार्गका मुख्य बजारमा पम्पहरु विस्तार गर्ने सहमति भएको छ ।

आपूर्ति मन्त्रालयसहित नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी, साझा, आयल निगम, साल्ट ट्रेडिङ, नेशनल ट्रेडिङ लगायतका प्रतिनिधिहरुबीचको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकमा अब राजधानीमा खुल्ने पम्पको क्षेत्रफल कम्तिमा १० रोपनी राख्ने र त्यसबाट लामो लाइन बस्दा पनि सहज रुपमा तेल दिने वातावरण बनाउने सहमति भएको छ ।

अहिलेको बजारमा नेपाल पेट्रोलियम डिलर्स एसोसिएशन, नेपाल एलपी ग्यास उद्योग संघ र नेपाल पेट्रोलियम ट्यांकर ढुवानी व्यवसायीले समय-समयमा अनावश्यक माग तेस्र्याएर सरकारलाई अप्ठेरोमा पार्ने गरेका छन् ।

तपाइको मत