६ साउन, काठमाडौं । बिहीबार दिउँसो ११ बजेको लागि बोलाइएको संसद बैठक शीर्ष नेताहरु छलफलमा जुटेपछि २ बजेका लागि सारिएको थियो । तर दलहरुबीच कुनै सहमति नभएपछि संसद सचिवालयले सूचना टाँस गरी बैठक शुक्रबार दिउँसो २ बजेसम्मका लागि स्थगित गरेको छ ।
संसद बैठकमा आर्थिक विधेकमाथि पहिला छलफल गर्ने कि अविस्वासको प्रस्तावमाथि छलफल गर्ने ? भन्ने विषयमा दलहरुबीच विवाद भएको छ ।
शीर्ष नेताहरु छलफलमा जुटे पनि निष्कर्षमा नपुगेपछि संसद भवन नयाँ वानेश्वरमा बसेको सभामुखसहित शीर्ष दलको बैठकमा नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले सहमतिको लागि ४ विकल्प अघि सारेको छ ।
उक्त विकल्पमा कांग्रेस माओवादीले संसदमा पेश गरेको अविस्वास प्रस्ताव फिर्ता लिने र प्रधानमन्त्रीले राजीनामा दिने, त्यसपछि संसदमा रहेका विधेयकहरु पारित गर्ने रहेका छन् ।
यस्तै प्रधानमन्त्रीले राजीनामा दिएसँगै नयाँ सरकार गठनमा आइपर्ने समस्याको समाधानमा एमालेले सघाउने तथा संविधान कार्यान्वयनको विषयमा मिलेर अघि बढ्ने विकल्प कांग्रेसले प्रस्तुत गरेको छ ।
बैठकमा सहमतिका लागि प्रस्तुत ४ विकल्पमा केन्द्रीत रहेर भोलि छलफल गरी निश्कर्षमा पुगिने नेता पौडेलले बताए । बैठकपछि माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले बैठकमा समस्याको समाधानका लागि ४ विकल्प आएको भन्दै त्यसमै केन्द्रीत भएर दलहरुबीच छलफल हुने बताए ।
एमाले नेता सुवासचन्द्र नेम्वाङले चार बुँदे विकल्पमाथि छलफल सुरु भएको भन्दै पहिला प्रधानमन्त्रीले राजीनामा दिने कि अविस्वासको प्रस्ताव फिर्ता लिने भन्ने विषय महन्वपूर्ण रहेको भन्दै त्यसमै केन्द्रीत रहेर छलफल हुने बताए ।