१७ जेठ ०७७, काठमाडौं । अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुफ)ले मजदुरहरुका तलब, भत्ता नदिने, सेवा सुविधा कटौती गर्ने रोजगारदाताहरुले ठूलो मूल्य चुकाउनु पर्ने चेतावनी दिएको छ ।
शुक्रबार अन्टुफ अध्यक्ष जगत सिम्खडाको अध्यक्षतामा बसेको पदाधिकारीको भर्चुअल बैठकले बन्दाबन्दीलाई कारण बनाएर मजदुरहरुका तलब, भत्ता तथा सेवा सुविधा कटौती गर्ने रोजगारदाता र सरोकारवाला निकायहरुलाई यस्तो चेतावनी दिएको हो ।
उपाध्यक्ष जय कार्कीले दिएको जानकारीअनुसार बन्दाबन्दीमा समेत श्रमिकहरुलाई व्यक्तिगत स्वास्थ्य सुरक्षाको आधारभूत सुरक्षा सामग्री उपलब्ध नगराई विभिन्न क्षेत्रमा श्रममा लगाइरहेको तर पारिश्रमिक दिन बिभिन्न बाहनावाजी गरिरहेको पाइएको छ । बैठकले बिनाशर्त मजदुरहरुलाई पुरा पारिश्रमिक दिनुपर्ने निर्णय गरेको छ ।
हालै भारतबाट नेपाल प्रवेश गर्ने नागरिकहरुलाई कोरोनाको संक्रमण देखिएको भन्दै उनले उनीहरुको स्वाब परीक्षण साथै व्यवस्थापनमा तीनै तहका सरकारले जुन भूमिका खेल्नुपर्ने हो, त्यसो गर्न नसकेकोमा बैठकले व्यवस्थापनको पाटोमा सरकारले ट्रेड युनियनसँग आवश्यक समन्वय र सहकार्य गर्न नसक्दा जटिलता देखिएको बताए ।
उनले विदेशमा रहेका तर स्वदेश फर्कन चाहने नेपालीहरुलाई सरकारले फिर्ता ल्याउनुपर्ने साथै फर्किएकाहरुलाई कोरोना संक्रमण, रोकथाम र नियन्त्रणका लागि क्वारेन्टाइनसहितको उचित व्यवस्थापन गरिनुपर्ने बैठकमा छलफल भएको बताए ।
कोराना संकटले निम्त्याएको बन्दाबन्दीको पूर्णपालना गर्दै स्थानीय तहको समन्वयमा मजदुरहरुका दैनन्दिनका समस्या हल गर्न साथै कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि आवश्यक भूमिका खेल्न र अनुगमनको कामलाई निरन्तरता दिन समेत बैठकले मातहतका कमिटी र नेतृत्वलाई आवश्यक निर्देशन गरिएको उनले बताए ।
उक्त भर्चुअल बैठकमा उपलब्ध पदाधिकारी, सातै प्रदेश तथा परिषद् इन्चार्ज तथा अध्यक्षहरुले वर्तमान अवस्थामा अन्टुफले तत्कालै गर्नुपर्ने कामहरुका बारेमा चर्चा गरेका थिए ।
यसैगरी वर्तमान संकटमा श्रमिकहरुलाई उत्तेजित पार्न र धमिलो पानीमा माछा मार्ने उद्देश्यलेप्रेरित भई मजदुरहरुका रोजीरोटीमाथि राजनीति र व्यावसायिक मुनाफाको अभिष्ट नराख्न रोजगारदाता संघसंस्थाहरुलाई बैठकले सचेत गराएको छ ।