१६ असार ०८०, पोखरा । प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ ले तीनै तहका सरकारहरूले आफ्नो सोच र कार्यशैली बदलेर मात्र संघीय लोकतान्त्रिक प्रणाली बलियो बनाउन सकिने बताएका छन् ।
शनिबार बिहान पोखरामा आयोजित राष्ट्रिय समन्वय परिषदको प्रथम बैठकको अध्यक्षता गर्दै प्रधानमन्त्रीले यस्तो बताएका हुन् ।
प्रधानमन्त्रीले भने, “संघीयताको मर्म र यसको दीर्घकालीन महत्व हामीले बुझेनौँ भने यसको फाइदा संघीयताका विरोधीहरूले लिनेछन्। हामीले जति छिटो र राम्रो कार्यसम्पादन गर्छौं, जनताले त्यति नै मात्रामा संघीयताबाट लाभ लिन सक्छन् । संघीयता कार्यान्वयनका लागि ऐनहरू बनेका छन्, तर ती पूर्ण छैनन् । समन्वयको प्रभावकारिता पनि जरूरी छ। हाम्रो जोड त्यता हुन जरूरी छ ।
“धेरै लामो संघर्ष र पहलपछि देश संघीय गणतन्त्रमा आएको हो। यो कुनै भावावेशमा गरिएको निर्णय होइन, सुविचारित निष्कर्षका कारण नै हामी अहिले हामी संघीय प्रणालीमा छौँ । यसको व्यवस्थापन र प्रभावकारी कार्यान्वयन पनि हाम्रै हो, त्यसमा नचुकौँ“ प्रधानमन्त्रीले सम्बोधनका क्रममा भने ।
“कतिपय शक्तिहरू यस (संघीय गणतन्त्र)लाई ढलाउन सकिन्छ कि भनेर लागिरहेका छन् । पुरातनपन्थी र हावाहुरीबाट आएका शक्तिहरू पनि यसलाई कमजोर पार्न लागिरहेका छन् । त्यसैले लोकतान्त्रिक शक्तिहरूले नै यसको पहल र स्वामित्व लिनुपर्छ । नेपालको भूराजनीतिक संवेदनशीलताका कारण पनि व्यवस्था बलियो बनाउन हामीहरू नै लाग्नुपर्छ ।
प्रधानमन्त्रीले नीति, कार्यक्रम र बजेटको परम्परा अर्को वर्ष ब्रेक गर्ने बताउँदै भने, “अहिले हामीले नीति, कार्यक्रम र बजेटमा जुन मोडल र प्रक्रिया अवलम्बन गरेका छौँ, त्यसले समाधान दिँदैन । त्यसैले हामी यसलाई बदल्छौँ । जनप्रतिनिधि र सरोकारवाला सबैको अन्तरक्रियाबाट सबैको अपनत्व हुने गरी नीति, कार्यक्रम र बजेट बनाउँछौँ ।
यस्तै उनले संघीयताविरोधी शक्तिलाई व्यवहारबाट जवाफ दिन जरूरी बताए ।