स्थानीय तहकाे निर्वाचन : झिनाे मतान्तरदेखि गाेलाप्रथाबाट हार-जित

७ जेठ ०७४, काठमाडौं । पहिलो चरणको स्थानीय तह निर्वाचनमा केही स्थानमा उम्मेदवारको बराबरी मत आउँदा गोलाप्रथाबाट विजयी बनेका छन् ।

सल्यानकाे गाेलाले काँग्रेसका दिनेशकाे पल्लाभारी

सल्यानमा दुई उम्मेद्वारको बराबर मत आएपछि गोलाप्रथा गरिएको छ । ढारचौर गाउँपालिका वडा नं. ४ का दुई वडाध्यक्षको मत बराबर आएपछि गोला प्रथाबाट विजयी उम्मेदवार घोषणा गरिएको हो ।

वडा नं. ४ बाट वडाध्यक्षका उम्मेद्वार नेपाली कांग्रेसका दिनेश विएम र नेकपा एमालेका देवेन्द्र रोका दुवैले ३२१ मत प्राप्त गरेका थिए ।

दलका प्रतिनिधि र निर्वाचन आयोगका प्रतिनिधि सहभागी भएर गोलाप्रथा गर्दा कांग्रेसका उम्मेदवार दिनेश विएम विजयी भएका हुन् ।

थाङ्गपालकाे गोलाले माअाेवादीका तामाङ पराजित

यसैगरी सिन्धुपाल्चोक जिल्लाको थाङ्गपाल गाउँपालिकाको वडाअध्यक्षमा मत बराबरी भएपछि गोलाप्रथाबाट छानिएको छ ।

थाङ्गपाल गाउँपालिका वडा नम्बर २ को अध्यक्ष पदमा एमालेका पासाङ तामाङ र माओवादी उम्मेदवार शेरबहादुर तामाङ्गबीच बराबरी भएको हो ।

बराबर मत आएपछि गोलाप्रथा हुँदा एमालेका पासाङ विजयी भएका छन् । उनीहरु दुबैले ४ सय ७४ मत ल्याएका थिए ।

डोल्पाकाे मुड्केचुलामा २ मत फरक

सबैभन्दा कम मतान्तर अर्थात् २ मतले डोल्पाको मुड्केचुला गाउँपालिकाका अध्यक्षमा माओवादी केन्द्रका दत्तबहादुर शाही निर्वाचित भएका छन् । उनले ९३३ मत प्राप्त गरे भने प्रतिद्वन्द्वी एमालेका उम्मेदवार लंकबहादुर रोकायाले ९३१ मत प्राप्त गरे । सो गाउँपालिकामा कुल मतदाता २,४०४ छन् ।

जुम्लाकाे हिमा गाउँमा ३ मत अन्तर

जुम्लाको हिमा गाउँपालिकाको अध्यक्षमा माओवादी उम्मेदवार राजबहादुर शाहीले तीन मतन्तरले जितेका छन् । उनले १,३१७ मत पाए भने उनका प्रतिद्वन्द्वी एमालेका भैरवबहादुर रोकायाले १,३१४ मत पाएका छन् । सो गाउँपालिकाको मतदाता संख्या ५,१६९ छ ।

डोल्पाकाे त्रिपुरासुन्दरीमा १८ मतकाे अन्तर

नगरपालिका प्रमुखमा एमालेका ओमबहादुर बूढा १८ मतान्तरले विजयी भए । उनले १६०९ मत प्राप्त गरे भने प्रतिद्वन्द्वी कांग्रेसका डिलबहादुर विष्टले १५९१ मत प्राप्त गरे ।

सिन्धुलीकाे तीनपाटनमा १९ मत अन्तर

सिन्धुलीको तीनपाटन गाउँपालिकाको अध्यक्षमा कांग्रेसका कर्णबहादुर थापा १९ मतान्तरले विजयी भए । प्रतिद्वन्द्वी एमालेका छत्रबहादुर दाहालले ५,६८२ मत पाएका छन् भने विजयी थापाले ५,७०१ मत पाएका छन् ।

जाजरकोटकाे बारेकोटमा १९ मतकाे अन्तर

गाउँपालिका प्रमुखमा कांग्रेसका महेन्द्रबहादुर शाह १९ मतान्तरले विजयी भए । उनले २१४८ मत प्राप्त गरे भने प्रतिद्वन्द्वी माओवादीका तिलक रावतले २१२९ मत प्राप्त गरे ।

धादिङकाे ज्वालामुखीमा २८ मतकाे अन्तर

धादिङको ज्वालामुखी गाउँपालिकाको अध्यक्षमा कांग्रेस उम्मेदवार विनोद तिमल्सिनाले २८ मतअन्तरले जितेका छन् । उनका प्रतिद्वन्द्वी एमालेका रामप्रसाद अधिकारीले ५ हजार ९२६ मत प्राप्त गरेका छन् । तिमल्सिनाले ५ हजार ९ सय ५४ मत पाएका छन् । कुल जनसंख्या २३ हजार ९६६रहेको उक्त गाउँ पालिकामा जम्मा मतदाता संख्या १७ हजार २९७ छ ।

तपाइको मत