२९ चैत, काठमाडौं । मन्त्रिपरिषद्को आज बसेको बैठकले स्थानीय तहको निर्वाचनका लागि म्यादी प्रहरी नियुक्ति गर्न स्वीकृति दिएको छ ।
सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले दिएको जानकारीअनुसार सरकारले स्थानीय तहको निर्वाचनका लागि ७५ हजार म्यादी प्रहरी नियुक्ति गर्न स्वीकृति दिएको छ भने राजविराज घटनामा मृत्यु भएका इनर यादवको परिवारलाई क्षतिपूर्तिस्वरूप रु दश लाख दिने निर्णय पनि गरेको छ ।
भारतीय सेनाको गोली लागेर मृत्यु भएका बासुदेव साहलाई सहिद घोषणा गर्दै क्षर्तिपूर्तिस्वरूप परिवारलाई रु दश लाख प्रदान गर्ने निर्णय गरिएको छ । त्यसैगरी भोजपुर र तेह्रथुममा आगलागी भएको गाउँमा १५ लाख र सहरमा रु २५ लाखसम्म सहुलियत दरमा ऋण दिने निर्णय मन्त्रिपरिषद्ले गरेको छ ।
“सिरहाको दलित बस्तीमा पछिल्लो पटक भएको आगलागीबाट पीडित भएकालाई तुरुन्त राहत उपलब्ध गराउने निणर्य गरिएको छ’ प्रवक्ता कार्कीले भने, ‘चीनको ल्हासामा महावाणिज्य दूतावासको भवन निर्माणका लागि चीन सरकारसँग सहयोग पत्रमा हस्ताक्षर गर्ने अधिकार महावाणिज्यदूत गोविन्दबहादुर कार्कीलाई दिइएको छ ।’
मन्त्रिपरिषद्ले जातीय भेद्भाव र (कसुर सजाय) नियमावली, २०७३ लाई स्वीकृत गर्ने र स्थानीय तहको शासन सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक व्यवस्थापिका–संसद्मा पेस गर्न स्वीकृत प्रदान गरेको छ ।