स्थानीय तहको निर्वाचनको कार्यक्रम र मिति घोषणा हुने

२३ मंसिर, धनगढी । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधन प्रस्ताव दर्ता भएसँगै केही दिनभित्रै स्थानीय तहको निर्वाचनको कार्यक्रम र मिति घोषणा हुने बताएका छन् ।

सात नम्बर प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षणलाई बिहीबार बिहान कैलालीको धनगढीमा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले निर्वाचनको वातावरण बनाएको दाबी गर्दै अहिले विरोधमा रहेको एमाले लगायतका सबै दल पनि निर्वाचनमा आउने विश्वास व्यक्त गरे ।

‘म काठमाडौं फर्किएको केही दिनभित्र निर्वाचन कार्यक्रम र मिति घोषणा हुन्छ’ उनले भने, ‘त्यसपछि देश कुद्छ । सिंगो राष्ट नयाँ गतिमा अघि बढ्छ । माओवादी पार्टी र सरकार दुबैले देशलाई नयाँ गति दिनेछ ।’

तराईको जिल्ला तराईमै राख्ने र पहाडी जिल्ला पहाडमै राख्ने प्रस्ताव कांग्रेस एमालेकै थियो भन्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘त्यही प्रस्तावलाई हल्का संशोधन गर्दा राष्ट्रघाती हुने तर उहाँहरु चाहीँ राष्ट्रवादी हुने ? बडो बिचित्रको स्थिति देखिरहेको छु मैले ।’ उनले ६-७ पानाको त्यस प्रस्तावमा केपी ओली जीले, सुशील कोइरालाले हस्ताक्षर गरेको समेत बताए ।

तपाइको मत