स्वास्थ्य मन्त्रीद्वारा अञ्चल अस्पतालको निरीक्षण

२२ असार ०७५, राजविराज । उपप्रधान एवं स्वास्थ्य मन्त्री उपेन्द्र यादवले गजेन्द्र नारायण सिह सगरमाथा अञ्चल अस्पतालको निरीक्षण गरेका छन् ।

शुक्रबार अस्पतालको निरीक्षणपछि अस्पतालका चिकित्सक, कर्मचारी, जनप्रतिनिधि, अधिकारवादी र संचारकर्मीहरुलाई सम्बोधन गर्दै मन्त्री यादवले अस्पतालको स्तरोन्नतीका लागि ७५ देखि ७६ करोड रुपैयासम्म बजेट छुट्याई सकेकाले केही दिनभित्रै काम सुरु हुने बताए  ।

मन्त्री यादवले अधिकांश चकित्सकहरु सप्तरी आउन नचाहने भएकाले सप्तरी जिल्ला घरभई अन्यत्र जिल्लामा काम गरीरहेका डाक्टरहरुको सुचि तयार भईरहेकोले छिट्टै नै यहाँ आवश्यक पर्ने जनशक्ति सो सुचिबाट छनौट गरी ल्याउने बताए ।

सो अवसरमा उनले अस्पताललाई एक थान एम्बुलेन्स, विभिन्न रोगका विषेशज्ञ, उपकरण लगायतका साधन श्रोतको व्यवस्था निकट भविष्यमै उपलब्ध गराउने घोषणा गरेका थिए ।

त्यस्तै, प्रदेश नं. २ का भुमि व्यवस्था एवं कृषि सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले गजेन्द्र नारायण सिह सगरमाथा अञ्चल अस्पताललाई स्वास्थ्य अध्ययन विज्ञान प्रतिष्ठानको रुपमा समेत विकास गर्न प्रदेश सरकारले बजेटको नीति तथा कार्यक्रममा समावेश गरी सकेको जानकारी गराउँदै अस्पताल सुधारका लागि प्रदेश सरकारले पनि साधन, श्रोत र क्षमताले भ्याएसम्म सहयोग गर्ने प्रतिबद्धता जनाए ।

राजविराज नगरपालिकाका मेयर शम्भु प्रसाद यादवले स्थानीय, प्रदेश र केन्द्र तीन वटै सरकार मिलेर ऐतिहासिक अस्पताललाई संरक्षण र सुधार गर्नु पर्ने बताए ।

अस्पतालका मेडिकल सुपरिटेन्डट डा. चुमनलाल दासले अस्पतालको वर्तमान अवस्था, समस्या र चुनौति बारे मन्त्री यादवलाई सविस्तार जानकारी गराउँदै सुधारका लागि गर्नुपर्ने पहलहरु बारे सुझाव सहितको प्रतिवेदन बुझाएका थिए ।

तपाइको मत