३१ बैशाख ०७८, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ महामारीका बेला स्वास्थ्य सामग्री, औषधि र स्वास्थ्य सेवामा अनियमितता गर्ने माथि सरकार कडाइपूर्वक प्रस्तुत हुने बताएका छन् ।
शुक्रबार प्रधानमन्त्री पदको शपथ लिएपछि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा पदभार ग्रहण गर्दै प्रधानमन्त्री ओलीले कोरोना नियन्त्रणमा राज्यको सम्पूर्ण शक्ति लगााउने साथै अनियमितता गर्ने माथि कडाइपूर्वक प्रस्तुत हुने बताएका हुन् ।
अस्पतालहरुको आवश्यकता र बिरामीको चापका आधारमा अक्सिजन सर्वसुलभ रुपमा पाउने व्यवस्था गरिने बताउँदै उनले भने, “कोभिड–१९ महामारी नियन्त्रणमा सरकारका सबै सामर्थ्य केन्द्रित गरिनेछ । राज्यका सबै अंग यसमा परिचालन गरिनेछ र परिचालित हुन म आग्रह गर्दछु ।”
बैशाख २७ गते संसदमा विश्वासको मत गुमाएपछि उनी पदमुक्त भएका थिए । तर, राष्ट्रपतिले तीन दिनभित्र बहुमतको सरकार दावी पेश गर्न दलहरुलाई समय दिएपनि कसैको दाबी नपरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीलाई बिहीबार संविधानको धारा ७६(३) बमोजिम नियुक्त गरेकी थिइन् ।
उनले नियुक्त भएको मितिले तीस दिनभित्र प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गर्नुपर्ने हुन्छ ।