१ असोज ०७४, काठमाडौं । एसीसी यू १९ इस्टर्न रिजन प्रतियोगिताको फाइनलमा नेपालले हङकङलाई हराउँदै विजेता बनेको छ । उपाधिसँगै नेपाल मलेसियामै हुने एसीसी यू-१९ एसिया कप क्रिकेटका लागि पनि छनोट भएको छ ।
मलेसियास्थित बायुमास ओभलमा हङकङले दिएको ७७ रनको लक्ष्य नेपालले ५ विकेट गुमाएर १४.४ ओभरमै पूरा गर्यो ।
नेपालका लागि कप्तान दिपेन्द्र सिंह ऐरीले २२ रन, ओपनर सन्दीप सुनारले १९ रन बनाए भने अर्का ओपनर आसिफ शेखले १ रन बनाए ।
तेस्रो नम्बरका ब्याट्सम्यान अनिल कुमार साहले १६ रन नेपालको खातामा जोडे । प्रनित थापामगरले अविजित १९ रन बनाए । बलिङमा हङकङका करनदीप सिंहले ३ तथा झाथवेद एस एसले २ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हङकङले ३२.१ ओभरमा ७६ रन बनाउँदा सबै विकेट गुमायो ।
हंगकंगका लागि ओपनर हरप्रित सिंहले हरप्रित सिंहले २० रन बनाए भने झाथवेद एस एसले १६ र वक्सास खानले १५ रन बनाए । अन्य ब्याट्सम्यान चल्न सकेनन् ।
हङकङलाई सस्तैमा समेट्ने क्रममा साहब आलम र सन्दिप लामिछानेले ३/३ विकेट लिए भने अनिलकुमार साह र दिपेन्ऽ सिंह ऐरीले १/१ विकेट लिएका छन् ।