हार्दिक श्रद्धासुुमन शहीद क.शिला तिमीलाई !

अरुण लामा ‘घिसिङ’/ १६ माघ, काठमाडौ । आफ्नो वर्गको मुक्ति र वर्षौदेखि शासन गर्ने शासकको अन्त्यका लागि इतिहासको गतिवान वेगसँगै बम, गोलाको धमाका बारुदको धुँवा अनि गोलीको छर्रासँगै इतिहास निर्माण गर्न अघि बढेका कैयन योद्धाहरु भौतिक रुपमा आज हाम्रो सामु छैनन् ।

शहीद क.शिला श्रेष्ठ

शहीद क.शिला श्रेष्ठ

र, पनि इतिहासलाई पल्टाउँदै जाने हो भने ती क्रान्तिकारी योद्धाहरु निरन्तर क्रान्तिलाई अघि बढाउन उत्प्रेरक एवम् पथ प्रदर्शक बनेर महान् शहीदका रुपमा अमर छन् ।

तिनै महान् शहीदहरुको स्मरणमा आज शहीद दिवस मनाइरहँदा इतिहास बनिसकेकी क्रान्तिका बिम्ब महान् शहीद क.शिला श्रेष्ठको इतिहासलाई खोतल्ने प्रयास गरिएको छ । यहाँ शहीद क.शिलाबारेमा सोलुखुम्बुको सल्लेरी मोर्चादेखि काभ्रेपलाञ्चोकको नार्केसम्मको ऐतिहासिक एवम् मोर्चालाई बिम्बित गरिएको मात्रै छ ।

क्रान्तिकारी आदर्शलाई स्थापित गर्न सर्वहारा वर्गको मुक्तिको निम्ति भौतिक शरीर अर्पेर युगौंयुग बाँचिरहेछन् क. शिला । इतिहास निर्माण गर्न कयौं योद्धाहरु लामबद्ध भए, माक्र्सवादलाई कयौं मान्छेले व्याख्या गरे अन्ततः इतिहासलाई सीमित मान्छेले निर्माण गरे । माक्र्सवादलाई सीमित मान्छेले जिवन्त तुल्याए । त्यही सीमित मान्छेभित्रको एक पात्र हुन् महान् शहीद क. शिला श्रेष्ठ ।

शहीद क. शिला आज हामीसँग भौतिकरुपमा सँगै नभए पनि उनको क्रान्तिकारी आदर्श, सर्वहारा वर्गप्रतिको लगाव, वर्ग दुश्मन विरुद्धको घृणा, क्रान्तिप्रति निष्ठावान् जिम्मेवारीप्रति अत्यन्त गम्भीर, इतिहासले सुम्पिएको अभिारालाई दृढतापूर्वक पूरा गर्ने विशेषतालाई अनुसरण गर्दै क.शिलाहरुको अधुरा सपनालाई साकार गर्न अघि बढ्नुको विकल्प छैन् ।

वि.सं. २०४२ असोज १८ गते बागमती अञ्चल काभ्रेपलाञ्चोक जिल्ला खनालथोक गाविस वडा नं. २ चरङ्गे फेदीमा बुवा टिकाराम श्रेष्ठ, आमा झनक देवी श्रेष्ठको कोखबाट काइँली छोरीको रुपमा जन्मिएकी क.शिलाको परिवारमा अहिले ४ दिदी बहिनी र २ दाजुभाइ छन् ।

सानैदेखि विद्रोही स्वभावकी शहीद क. शिलाले औपचारिक शिक्षा कालिगंगा प्रा.वि चरङ्गे फेदीमा र माध्यमिक शिक्षा कटुञ्जे गाविसको रोशी मा.वि.मा हासिल गरिन् । अध्ययनकै शिलशिलामा देशमा चलिरहेको सर्वहाराको मुक्ति आन्दोलनमा समाहित भइन् ।

सर्वहारा वर्गको निम्ति जीवन उत्सर्ग गर्ने प्रणका साथ महान् जनयुद्धमा पूर्णकालिन कार्यकर्ता भई २०५४ सालमा भिषण वर्ग युद्धको आँधिमा होमिइन् । विद्रोही स्वभावकी शहीद क. शिला विभिन्न फ्रन्टमा काम गर्दै अन्ततः सैन्य फ्रन्टमा रहेर काम गर्दै जाने क्रममा हामी केही मोर्चामासँगै रहेर लड्यौ ।

क्रान्तिप्रतिको निष्ठावान गम्भीर्यता, वर्ग दुश्मनप्रतिको घृणा, वर्ग मित्रहरुप्रतिको सहकार्यले वास्तवमा नै क्रान्तिमा खडेरी परेको बेला क्रान्तिकारी कमाण्डरको भूमिका निर्वाह गर्न सक्ने कुशल योद्धा, युद्ध कौशलमा क्षमतावान् वर्ग वैरीप्रतिको तिव्र ओक्रोश व्यक्त गर्ने जोधाहा योद्धाको रुपमा अभाव र खाँचोलाई पूर्ति गर्न सक्ने बनिन् ।

समयको वेगसँगै पार्टीको हरेक मोर्चा, रेड, एम्बुस, माइनिङ, सेवोटेज, हरेक प्रकारको ब्याटलमा सहभागी बन्दै हर मोर्चालाई सफलताको शिखर चुमेर अगाडि बढेदै जाने क्रममा जनमुक्ति सेनाको जवान हुँदै सेक्सन सह–कमाण्डर, प्लाटुन सह– कमाण्डर, प्लाटुन कमाण्डर, कम्पनी सह–कमाण्डरको जिम्मेवारी बहन गर्नेक्रममा भोजपुर पुग्दा २०६२ माघ १५ गते देशैभरिको मोर्चामा हार खाएर तिल्मिलाएका शाही जल्लादहरुले क. शिला बसेको घरलाई घेराबन्दी गरी ८१ एमएमको सेल प्रहार ग¥यो । त्यही क्रममा क. शिला श्रेष्ठको शाहदत भयो ।

क.शिला तिम्रो हत्याको खबरले सारा बस्ती उजाडिएको छ । सारा बस्ती शोकमा डुबेको छ । हिमाल र महाभारतले आफ्नो सहारा गुमाएको छ । शैलुङ पिडोले छटपटिएको छ । गगनले थिचिएको भान भएको छ । धर्ती भाँसिएको महशुस भएको छ । वर्ग दुश्मनप्रतिको घृणाले क्रान्तिकारीहरु योद्धाहरु तिम्रो हत्याको बदलामा आगोको लप्काहरु ओकल्न अघि बढिरहेकै छन् । तिम्रा ती अधुरा सपना पूरा गर्न हामी निरन्तर क्रान्ति पथमा छौं । अन्तमा महान् शहीद क.शिला श्रेष्ठ तिमीलाई हार्दिक श्रद्धा सुमन ! लालसलाम !

लेखक, नेकपा माओवादी केन्द्रका महाधिवेशन आयोजक कमिटी सदस्य हुन् ।

तपाइको मत