१ बैशाख ०७४, काठमाडौं । सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन आज वि. सं. २०७४ वैशाख १ गते, नयाँ वर्षको पहिलो दिन एकआपसमा शुभकामना आदान–प्रदान गरी मनाइँदैछ ।
नयाँ वर्षको पहिलो दिन हुँदा खाने र हुने खानेहरुले आ–आफ्नै तरिकाले नयाँ वर्ष मनाउँछन् ।
‘हुँदा खाने’ निम्न वर्गका परिवारलाई नयाँ वर्षको बतास नलागे पनि ‘हुनेखाने’ र मध्यम वर्गका परिवारहरुले यसलाई पर्वकै रुपमा मनाएको देखिन्छ ।
नयाँ वर्षको पहिलो दिन मध्यम वर्गीय साथै ‘हुनेखाने’ युवा–युवतीहरु बिहान स्नान गर्ने, घर, आँगन सफा गर्ने, देवदेवीको दर्शन गर्न मन्दिर जाने, मीठो खाने, साथी र मित्रसँग भेटघाट गर्ने, रमणीय स्थलमा जाने साथै सामाजिक सञ्जालमा शुभकामना साटासाट गरी नयाँ वर्ष मनाइरहेको देखिन्छ ।
इतिहासकार प्रा.डा. दीनेशराज पन्त मल्लकालदेखि नेपालमा मौलिक संवतका रुपमा वि.सं चलेको बताउँछन् । ‘नेपालमा मात्र मौलिक रुपमा यो संवत् चल्छ, भारतमा सरकारी संवत शक संवत भए पनि व्यवहारमा इस्वी संवत चलेको छ ।’
प्रा.डा. पन्तले वि.सं १३५ देखि शक संवत, विसं ६३३ देखि मानदेव संवत, विसं ९३६ देखि नेपाल संवत चलेको जानकारी दिँदै यी संवतमध्ये अहिले मानदेव संवतको चलन हराइसकेको बताए ।
इतिहासकार पन्तले विक्रमको १२औँ शताब्दीमा गुजरातबाट आएका विद्वानले किताब सार्दा पहिलोपटक वि.संको प्रयोग गरेको लिखित दस्तावेज फेला परेको बताए ।
नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा.डा. रामचन्द्र गौतमकाअनुसार विक्रमको अर्थ ‘पराक्रम’ र आदित्यको अर्थ ‘सूर्य’ हुन्छ, सूर्यका उपासकले चलाएकाले नै यसलाई विक्रम संवत भनिएको हो ।
एकथरि राजा विक्रमादित्यले चलाएको संवत् भएकाले यो संवतलाई विक्रम संवत् भनिएको हो भन्ने तर्क पनि छ ।