हेलो सरकारमा गुनासो, प्रधानमन्त्रीको निर्देशनपछि २४ घण्टाभित्रै सम्बोधन

१८ भदौ ०८०, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबार दिउँसो सिंहदरबारबाट हेलो सरकार २४ सै सञ्चालन गर्ने कार्यक्रमको शुभारम्भ गरेका छन् ।

कार्यक्रमको शुभारम्भ गर्दै प्रधानमन्त्री प्रचण्डले दोलखा जिल्लाको बिगु गाउँपालिकाको वडा नं.–४ सिंगटीमा मानव बस्ती भन्दामाथि रहेको ठूलो ढुंगोका कारण ३२ घरधुरी जोखिममा परेको जनगुनासो सुनेर उक्त गुनासो सम्बोधनका लागि रक्षा सचिव किरणराज पौडेललाई तत्कालै निर्देशन समेत दिए ।

प्रधानमन्त्रीको निर्देशनपछि आइतबार बेलुका नै नेपाली सेनाको टोली सिंगटीमा पुगेर सोमबार बिहानैदेखि कार्यप्रारम्भ गरेको रक्षासचिव पौडेलले जानकारी दिएका छन् ।

रक्षसचिव पौडेलले बस्तीमाथि रहेको ढुंगो बिस्फोट गरी हटाउने कार्य सुरू गरिएको र उक्त कार्यक्रम सम्पन्न गर्न एक हप्ता जति समय लाग्ने बताए ।

उनले भने, ‘‘प्रधानमन्त्रीको निर्देशनलगत्तै नेपाली सेनाको टोली सम्बन्धित स्थानमा पुगेर काम सुरू गरिसकेको छ । ढुंगो निकै ठूलो छ, एकैपटक बिस्फोट गर्दा ढुंगाले बस्तीमा असर पर्न सक्छ । त्यसैले बस्तीलाई असर नपर्नेगरि ढुंगो हटाउने कार्य भइरहेको छ ।’’

आइतबार हेलो सरकारको २४ सै घण्टा सेवा शुभारम्भ गर्ने कार्यक्रममा दोलखाका सेवाग्राहीले बस्तीमाथि पहिरो आई ठूलो ढुंगो अड्किएर बसेको र सो ढुंगाको कारण ३२ घरधुरी बिस्थापित हुनुका साथै सरकारी संरचनाहरूसमेत जोखिममा रहेको गुनासो टिपाएको थियो ।