
बिजयबस्ती ७, पर्सास्थित उमेश किराना पसलको पछाडि ग्यास पल्टी गरिँदै ।
सोम बहादुर थापा
३० पुस, पर्सा ।
हाकाहाकी रिर्पोटिङ्गको क्रममा ग्यास किन्ने ग्राहक बनेर मोटर साइकलमा पुस २६ गते दिउँसो १ बजे काठमाडौंबाट पर्सा जिल्लाको छोटी भन्सार पुग्ने उद्देश्यसहित हिँडेको यो पंक्तिकार छोटी भन्सार नाका, ठोरी भन्दा करिब १५ किलोमिटर पर रहेको नयाँबस्ती, निर्मलबस्ती वडा नं. ६ र बिजयबस्ती वडा नं. ७ सम्म पुग्यो ।

बिजयबस्ती ७, पर्सा स्थित उमेश किराना पसल र उनको नातेदारको निशान हार्डवेयर अगाडि मिनी पेट्रोल पम्प ।
बिजयबस्ती वडा नं. ७ स्थित उमेश किराना पसलको साहुजीसँग ग्यास किन्ने ग्राहक बनेर ‘ग्यास पल्टी भर्दा कतिमा भर्नु हुन्छ ?’ भनेर यो पङ्क्तिकारले प्रश्न गर्दा किनारा पसलको साहुजीले नयाँ बस्तीका स्थानीय भिम बहादुर श्रेष्ठ थरका व्यक्तिलाई देखाउँदै उहाँसँगै कुरा गर्नुस् भन्दै मूल्य नबताएर पन्छिए । श्रेष्ठ थरका ती व्यक्ति जसले त्यहीँबाट डिजेल, पेट्रोल साथै ग्यास खरिद गरी काठमाडौंमा सप्लाई तथा कालोबजारी गर्ने गर्दथ्यो । जसलाई मैले कालोबजारीया हो भनेर राम्ररी चिनेको थिएँ । सो पसलका साहुजी चाहिँ श्रेष्ठका भेनाजु पर्ने व्यक्ति रहेछन् ।
यसै बिचमा उक्त किराना पसलको साहुजी र एक व्यक्ति कानेखुसी गर्न थाले । दुई जनाको खासखुस कुराकानी लगतै ज्याकेटको खल्तीबाट मोबाइल झिकेर मोवाइलमा “हेल्लो सर, हजुर सर ! पारी एस.एस.बी. क्लीयर रहेछ, यहाँको टोली पठाई दिउँ सर ? ए, ल ल हुन्छ सर ! ओरालोबाट पठाएको छु है, सर !” भन्ने संवादको अंशसँगै मोवाइल पुनः ज्याकेटको खल्तीमै पस्यो ।
उल्लेखित संवाद सुरक्षाकर्मी बिचको कुराकानी नभई उमेश किराना पसलको साहुजीले प्रहरी सेटिङ्गको क्रममा सुरक्षार्मीसँग गरेको संवादको अंश मात्र हो ।
सायद, उताबाट (प्रहरी गस्ती वा स्थानीय प्रहरी कन्ट्रोलबाट) हुन्छ भन्ने कुनै सङ्केत आएछ क्यारे ! साहुजीले १५–२० जनाको टोलीलाई ‘जल्दी करो, जल्दी । जल्दी से जल्दी ईस रस्ता से चलिजाओ’ भन्दै इशारा गर्दैथ्यो । पसलको वरपर केही मोटरसाइकल थियो । सबैको नम्बर प्लेटमा ‘जय माता दी’ लेखिएको थियो । तिनै मोटरसाइकल चढेर कालाबजारीया तथा तस्करहरु खाली ग्यासको सिलिण्डर, पेट्रोल र डिजेलको ग्यालिन लोड गरेर ओरालो तर्फ लागे ।

नम्बर प्लेटमा ‘जय माता दी’ लेखिएको मोटरसाइकल ।
यो पंक्तिकारले ‘प्रहरीसँग कुरा गर्नु भएको हो कि क्या हो साहुजी ?’ भनेर प्रश्न गर्दा किराना पसलको साहुजीले भने, ‘हो नि सर, सबैलाई मिलाउनु पर्दछ । नत्र त समाइहाल्छ । केही समय अघि मात्र प्रहरीले यहाँ धेरैलाई समात्यो । तर अहिले मिलाएका छौं ।’
‘ए हो र ! अनि तपाईले त सबै सामान बाहिर नै राख्नुभएको छ नि त ! कुनै न कुनैबेला अप्ठ््यारो पर्ला, प्रहरीले समाइदेला नि ? भनेर यो पंक्तिकारले भन्न नपाउँदै उनले हौसिदै भने, ‘मलाई केही फरक पर्दैन सर, ठोरीमा इन्सपेक्टरको कमाण्ड छ, यहाँ चाहिँ एउटा चौकी असईको नेतृत्वमा छ, अनि अलि पर सशस्त्रको एउटा क्याम्प छ । एक पटक सशस्त्रले चाहिँ मन्त्रालयको आदेश ल्याएछ । त्यतिबेला चाहिँ धेरैलाई समायो तर मैले सेटिङ्ग मिलाएकोले खासै केही भएन ।’

लुकाई राखेको ग्यास सिलिण्डर र तेलका भाडो ।
‘उ परको पनि मेरै नातेदार हुन् । १/१ हजार लिटरको ड्रम नै किनेर बिक्री गरिरहनु भएको छ । जे होस् राम्रै व्यापार भएको छ सर नाकाबन्दीले गर्दा’ पारी पट्टिको पसल देखाउँदै उनले भने, ‘इण्डियनहरुले जख्तिया र भाङ्गाको पम्पहरुबाट डिजेल, पेट्रोल, ग्यास र मट्टिलेल यहीँसम्म ल्याइदिन्छन् तर तिनीहरुलाई कम्पनी (आई.सी.) दिनुपर्छ । कम्पनी भएन भने कम्पनी सयको लागि हामीले नेपाली १ सय ७२ रुपैयाँको दरले दिनु पर्दछ ।’
उमेश किराना पसलको साहुजीको भनाई अनुसार स्वर्णपुर, ब्रह्मनगर, छोटी भन्सार नाका, ठोरी लगायत क्षेत्रमा सुरक्षाकर्मीकै मिलेमतोमा कालोबजारी भइरहेका छ भने कालोबजारीयाहरुसँग पैसा असुलेर उनीहरुलाई सुरक्षाकर्मीहरुले सुरक्षा पनि दिइरहेका छन् ।
गृहमन्त्रीको कुरा एकातिर, कालोबजारी र तस्करीको काम अर्कोतिर
एसएसपी बिक्रम सिंहको मौनताले नियत माथि प्रश्न !
वर्तमान सरकारको गृहमन्त्री शक्तिबहादुर बस्नेतले पोखरामा बिहीबार अहिलेको नाकाबन्दीबाट कसैले पनि कालोबजारी र तस्करी गरी अनुचित फाइदा नलिओस् भनेर सरकार गम्भीरतापूर्वक लागेको बताई रहँदा कालोबजारी र तस्करी पुनः फस्टाउँदै गइरहेको अवस्था छ ।

पर्साको छोटी भन्सार ठोरी हुँदै काठमाडौं फर्कने क्रममा बसको छतमा देखिएको इन्धन ।
महानगरीय प्रहरी परिसर टेकु काठमाडौंका प्रहरी प्रमुख एसएसपी बिक्रम सिंह थापाले काठमाडौंको नागढुङ्गा नाकामा केही समय अघि कालोबजारीयाहरुलाई पक्रिएको साथै हजारौं लिटर इन्धन जफत गरिएको ढ्वाङ पिटिएको थियो भने अखबारका पानाहरु कालोबजारीको लागि ल्याइएको इन्धनका ड्रम र सवारी साधनले पोतिए । वास्तवमा एसएसपी थापाले केही कालोबजारीयालाई समाएको र इन्धन जफत गरेको पनि हो तर त्यो नाटकमै सीमित हुनपुग्यो किनभने आज पनि कालोबजारियाहरु खुलेआम बस, भ्यानहरुमा हजारौं–हजार लिटर इन्धन हजारौं रुपैयाँ भाडा तिरेर काठमाडौंको नागढुङ्गा नाका भएर भित्रिरहेका छन् । तर, एसएसपी थापा किन मौन छन् ? उनको मौनताले उनको नियत माथि प्रश्न उठाइदिएको छ ।
पर्साको छोटी भन्सार ठोरी हुँदै काठमाडौं फर्कने क्रममा बसमा इन्धन लिएर आएका कालोबजारीयाहरुको भनाई सुन्दा र तेल भर्न ठोरीतिर लागेका गाडीको लाइन हेर्दा देश नै कालोबजारीयाहरुले चलाएको प्रतीत हुन्छ ।
कालोबजारीयाहरुको भनाई सार खिच्दा कि राज्यले सर्वसुलभ रुपमा इन्धन उपलब्ध गराउनु प¥यो होइन भने प्रतिस्पर्धामा खुलेआम ल्याउन दिनु प¥यो किनभने काठमाडौं आउँदा बाटोमा दर्जनभन्दा बढी स्थानमा चेक प्वाइण्टहरु छन् । कैयन स्थानमा नेपाली सेनाले चेक गर्दछ केही स्थानमा सशस्त्र प्रहरी र केही चेक प्वाइण्टमा नेपाल प्रहरी छ । सबै चेक प्वाइण्टबाट इन्धन छुट्ने, त्यहाँ यही सामान (इन्धन) कालोबजारी नहुने तर काठमाडौं आइपुगेपछि कसरी कालोबजारी हुन्छ ?
विद्यार्थी सङ्गठन नै कालोबजारीमा ?
विगतका दिनहरुमा इन्धनमा २ रुपैयाँ मूल्य बृद्धि हुँदा २ हात उफ्रिने राजनीतिक दलका भातृसङ्गठनहरु यतिबेला चुपचाप बसिरहेका छन् । ‘कि त उनीहरु कमिसनमा छन् कि त कालोबजारीमा नै लागेका छन्’ भन्छन् सर्वसाधरण उपभोक्त साथै स्वतन्त्र नागरिकहरु । होइन भने यस्तो संकटमा राजनीतिक दलका विद्यार्थी सङ्गठन कुन दुलोमा पसेका छन् ?
जंगे पिलर नं. ४३५
पर्सा जिल्लाको छोटी भन्सार नाका ठोरी नजिकैको ‘ठुटेपानी खोला’मा भारत नेपाल बिच विबाद कायमै छ । भारतीयहरुले ४३५ नम्बरको जंगे पिलर डाँडाबाट अहिले सीधै तल झारेर ठुटेपानी खोलामा सारिदिएको बताउँछन पर्सा जिल्ला निर्वाचन क्षेत्र नं. ५, नयाँबस्ती वडा नं. ६ का बम बहादुर श्रेष्ठ ।

पर्सा जिल्लाको ठुटेपानी खोलासँगै रहेको ४३५ नं.को जंगे पिलर ।
श्रेष्ठका अनुसार ४३५ नम्बरको पिलर दिउँसो नेपालीहरुले लडाइदिए पनि भारतीयहरुले एक रातमै नयाँ पिलर ठड््याएर सीमा अतिक्रम गरिरहेको छ । यतिबेला ठुटेपानी खोलाको पानी भारतीयहरुले निर्वाधरुपमा प्रयोग गरिरहेका छन्, जुन पहिले नेपालीहरुले प्रयोग गरिरहेका थिए ।