१५ दिनभित्र दुधको उचित मूल्य निर्धारण हुन्छ – कृषिमन्त्री

१७ साउन ०७६, काठमाडौं । कृषि तथा सहकारीमन्त्री चक्रपाणी खनालले १५ दिनभित्र उचित मूल्य निर्धारण हुने बताएका छन् ।

शुक्रबार चितवनको भरतपुरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै मन्त्री खनालले दुग्ध उत्पादक कृषकको माग सुनुवाईका लागि कार्यादल गठन गरी १५ दिनभित्र माग पूरा गर्ने बताएका हुन् ।

दूधको मूल्य वृद्धिको माग गर्दै चितवनका दुग्ध उत्पादक कृषकहरु आन्दोलित बनेका बेला मन्त्रीले विश्वास दिलाउँदै भने –‘कृषकहरुको मागप्रति सरकार गम्भीर छ । दूधको मूल्य वृद्धि गर्ने विषयमा कुनै विमति छैन, कृषकले वास्तविक मूल्य पाउँछन् ।’

मन्त्री खनालले दुई–दुई वर्षमा दूधको मूल्य वृद्धि गर्ने सरकारको रणनीति भएपनि यसपटक लामो समयसम्म मूल्य निर्धारण नभएको बताए ।

बिहीबार मात्रै दूधको मूल्य कम्तीमा १० रुपैयाँले बढाउनुपर्ने माग राख्दै चितवनका दुग्ध उत्पादक सहकारी संस्थाहरुले सरकारलाई सातादिनको समय दिएका थिए । उनीहरुले दुग्ध उत्पादक सहकारीहरुलाई लगाइने करमा समेत छुट गर्न कृषकहरुले माग गरेका छन् ।

तपाइको मत