२४ बैशाख ०७७, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेहरूको संख्या ९९ पुगेको जनाएको छ ।
स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.विकास देवकोटाले विरगञ्ज पर्साबाट पठाइएका नमूना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा १७ जनामा पोजिटिभ देखिएको जानकारी दिए ।
आज पोजेटिभ देखिएका सबै पर्सा जिल्लाको रहेको साथै उमेरका हिसाबमा २ महिनादेखि ६६ वर्ष उमेरका रहेको भन्दै उनले पोजेटिभ देखिएकाहरुमा ७ जना महिला र १० जना पुरुष रहेका बताए ।
प्रवक्ता देवकोटाले हालसम्म कुल ९९ जना संक्रमितमध्ये ७१ जना पुरुष र २८ जना महिला रहेको समेत जानकारी दिए ।
उनले प्रादेशिक हिसाबमा प्रदेश १ मा ३१, प्रदेश २ मा ३०, बागमती प्रदेशमा ७, गण्डकी प्रदेशमा २, प्रदेश ५ मा २४, कर्णाली प्रदेशमा शून्य र सुदुरपश्चिम प्रदेशमा ५ जना संक्रमित रहेको बताए ।
यस्तै बैशाख ११ गते डिस्चार्ज भएको ५८ वर्षीय काठमाडौंका पुरुषको पुनः फलोअपमा परीक्षण गर्दा उनमा पोजिटिभ देखिएकाले थप उपचारका लागि पाटन अस्पतालमा भर्ना भएको जानकारी दिए ।
त्यसैगरी बैशाख १४ गते डिस्चार्ज भएका रौतहटका १९ वर्षीय र पर्साका ४४ वर्षीय पुरुषमा पुनः फलोअप गर्दा नमूना परीक्षण पोजिटिभ आएकाले विरगञ्जको नारायणी अस्पतालमा भर्ना भई थप उपचार भइरहेको बताए ।