२ पुस ०७६, काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा समपूरक अनुदान दिने गरी १ हजार ८ सय १६ मध्ये ५ सय २० वटा आयोजना तथा कार्यक्रम छनौट गरेको छ ।
राष्ट्रिय योजना आयोगका सदस्य सुशील भट्टका अनुसार समपूरक अनुदानका लागि छनौट गरिएका आयोजना तथा कार्यक्रमका लागि अर्थ मन्त्रालयमा बजेट सिफारिस गरिएको छ ।
आयोग भन्छ, “कार्यक्रमको कूल लागत २३ अर्ब १८ करोड ३३ लाख रुपैयाँ रहेको छ । त्यसमध्ये संघीय सरकारबाट १० अर्ब ८३ करोड ७७ लाख रुपैयाँ माग भएको छ । साथै, स्थानीय तहले ११ अर्ब ४ करोड ३६ लाख रुपैयाँ व्यहोर्ने छन् ।”
चालु आर्थिक वर्षका लागि स्थानीय तहमा समपूरक आयोजना सञ्चालन गर्न संघीय सरकारले ५ अर्ब रुपैयाँ बजेट छुट्याएको छ । त्यसमध्ये ५ सय २० वटा आयोजनाका लागि कूल ४ अर्ब ७५ करोड ४० लाख रुपैयाँ बजेट स्थानीय तहमा जाने कार्यक्रम तथा आयोजनाका लागि सिफारिस गरिएको छ ।
स्थानीय तथा प्रदेश सरकारले समपुरक अनुदानका लागि पर्यटन पूर्वाधार आयोजना/कार्यक्रम, कृषि, भूमिसुधार तथा वन क्षेत्रसँग सम्बन्धित कार्यक्रमका लागि अनुदान पाएका छन् ।
पूर्वाधार निर्माणतर्फ नमुना आवास निर्माण, मझौला तथा ठूला पुल, सौर्य, वायु वा जैविकजस्ता वैकल्पिक उर्जा कार्यक्रम, स्थानीय, ग्रामिण सडक तथा कृषि सडक, शहरी वा प्रदेश लोकमार्गजस्ता आयोजनामा बजेट सिफारिस भएको छ । अपुग रकमका लागि अर्को वर्ष पुनः बजेट माग गर्न सकिनेछ ।













