२५ बैशाख ०७४, काठमाडौं । निर्वाचन आयोगले पहिलो चरणमा हुने २८३ स्थानीय तह निर्वाचनका लागि कूल ४९ हजार ३३७ जनाको उम्मेदवारी परेको जनाएको छ ।
उम्मेदवारी दर्ता भएको ६ दिनपछि आयोगले उम्मेदवारहरुको विवरण सार्वजनिक गरेको हो ।
निर्वाचन आयोगकाअनुसार कूल उम्मेदवारमध्ये पुरुष उम्मेदवारको संख्या ३० हजार ५ रहेको छ । यस्तै १९ हजार ३ सय ३२ जना महिलाले उम्मेदवारी दिएका छन् ।
प्रतिशतको हिसाबले कूल उम्मेदवार मध्ये पुरुष ६०.८२ प्रतिशत र महिला ३९.१८४ प्रतिशत रहेका छन् ।
मेयर तथा गाउँपालिका प्रमुखका १८ सय ३० जनाको उम्मेदवारी
यस्तै मेयर तथा गाउँपालिका प्रमुखका लागि कुल १८ सय ३० जनाको उम्मेदवारी परेको छ । त्यसमध्ये पुरुष उम्मेदवारको संख्या १७ सय २३ रहेको छ भने महिला उम्मेदवारको संख्या १ सय ५७ मात्र छ ।
यस्तै उपमेयर र उपप्रमुखका लागि कुल १३ सय ८४ जनाको उम्मेदवारी परेको छ । त्यसमध्ये पुरुषको संख्या २ सय ५७ जना रहेको छ । महिला उम्मेदवार भने ११ सय २७ जना रहेका छन् ।
वडाध्यक्षमा ९५.८३ प्रतिशत पुरुष उम्मेदवार
यस्तै वडाध्यक्षमा ९५.८३ प्रतिशत पुरुष उम्मेदवार रहेका छन् । ३४ जिल्ला अन्तर्गतको वडा अध्यक्षका लागि पुरुषतर्फ १० हजार २ सय ९६ जनाको उम्मेदवारी परेको छ । वडा अध्यक्षको रुपमा जम्मा ४ सय ४८ महिलाले मात्र उम्मेदवारी दिएका छन् ।
यसैगरी वडा सदस्य २ जनाका लागि ९४.७१ प्रतिशत पुरुष रहेका छन् । खुल्ला सदस्य तर्फ पुरुषको संख्या १७ हजार ७ सय २९ छ भने खुल्ला तर्फ महिला वडा सदस्यका उम्मेदवार जम्मा ९ सय ५१ छन् ।
यस्तै महिला वडा सदस्यमा ९ हजार ८३ जना र दलित महिला वडा सदस्यमा ७ हजार ५ सय २६ जनाको उम्मेदवारी परेको निर्वाचन आयोगले जनाएको छ ।