११ असार ०७४, कपिलवस्तु । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले आन्दोलनबाट प्राप्त उपलब्धि संस्थागत गर्न बुलेटको विकल्पमा ब्यालेट रोजेको बताएका छन् ।
यादवले बुलेट मात्रै समाधान नभएको भन्दै ब्यालेटमा पनि अपार शक्ति भएकोले मधेश यसबाट पछि हट्न नहुने जिकिर गरे ।
आइतबार कपिलवस्तुको बहादुगञ्जमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै फोरम अध्यक्ष यादवले भने, ‘मधेसले जसरी सडक आन्दोलन गरेर आफ्नो तागत देखाएको छ, ठीक त्यस्तै अहिले ब्यालेटमार्फत् शक्ति देखाउने गर्ने समय हो ।’
मधेसको शान्तिपूर्ण आन्दोलनमाथि दमन गर्ने कांग्रेस, एमाले र माओवादी भएको भन्दै उनले भोटमार्फत परास्त गर्न आह्वान गरे । ‘हिजो जसका विरुद्ध मधेसले संघर्ष गर्यो, आज उसकै खिलाफ मतदान गर्ने बेला आएको छ । मतदान पनि संघर्षकै माध्यम हो, मधेसले चुनावमा विजय हासिल गर्नुपर्छ’ उनले भने ।
यादवले निर्वाचनमा जानुको मुख्य कारण शक्ति संचय गरी प्राप्त उपलब्धि संस्थागत गर्नु नै भएको प्रष्ट पारेका छन् ।
‘हामी चुनावमा गएनौं भने स्थानीय तहमा कांग्रेस, एमाले, माओवादी र राप्रपा लगायतका पार्टीहरुको बोलबाला हुनेछ र मधेसी जनता फेरि शोषित हुन्छन्’ उनले भने, ‘लोकतान्त्रिक अभ्यासमा जनताको अधिकार सुनिश्चित गराउन पनि निर्वाचनमा जान आवश्यक छ ।’