एक ठाउँ आक्रमण गरेर अर्को ठाउँमा लुक्न जाने नीति बदलिएको छ – परियार

विगतमा आन्दोलनको नेतृत्व उत्पीडित वर्गको नाममा मध्यम वर्गले नै गरेको हो तर अहिले क्रान्तिकारीले भन्दा तरङ्ग आयो

Tilak Pariyar

पृष्ठभूमि :
रोल्पा लिबाङमा जन्मिएर स्नातक तहसम्मको औपचारिक अध्ययन गरेका तिलक परियार ‘हिम्मत’ अन्तरिम व्यवस्थापिकाको सदस्य समेत भएका थिए भने पहिलो संविधान सभामा एकीकृत नेकपा माओवादीको तर्फबाट प्रत्यक्ष निर्वाचन प्रणाली अन्तरगत बाँके १ बाट विजयी पूर्व सभासद् हुन् । परियार एमाओवादी निकट दलित मुक्तिमोर्चाका केन्द्रीय अध्यक्ष तथा केन्द्रीय सल्लाहकार समेत रहेका परियार एमाओवादी,  नेकपा–माओवादी हुँदै हाल विप्लब नेतृत्वको नेकपा माओवादीका केन्द्रीय सदस्य रहेका छन् ।

लामो समय भारतमा बसेर पनि पार्टीको काम गरेका र भारतबाट नेपाल आएपछि बाँकेमै बसाइँ सराइ गरेर परियार जनयुद्धको बेला बाँके वरपर नै खटिएको थियो । २०२८ सालदेखि राजनीतिमा लागेका हुन्  । परियार फुर्सदको बेला लेखन र अध्ययनमै बिताउन चाहने परियार भन्छन्, “नेपाली कम्युनिष्ट आन्दोलनको स्थापनाकालदेखि अहिलेसम्म मध्यम वर्गीय बुद्धिजीवी र निम्न पुँजीवादीवर्गका मानिसले नेतृत्व गर्दै आएको तितो सत्य स्पष्टै छ । जुन वर्ग र समुदायको मुक्ति र नयाँ जनवादी राज्य व्यवस्थाको लक्ष्य र उदेश्य प्राप्तिका लागि वि.सं. २००६ साल बैसाख १० गते नेपाल कम्युनिष्ट पार्टीको स्थापना गरिएको थियो । ती वर्ग र समुदाय हुन मजदुर, किसान, दलित, महिला र उत्पीडित समुदायले अहिलेसम्म मुक्तिको अनुभूति गर्न पाइरहेको छैन् । देशको अर्ध सामन्ती तथा अर्ध औपनिवेशिक अवस्थामा कुनै परिवर्तन आएको पनि छैन । राजतन्त्रको अन्त्य महत्वपूर्ण उपलब्धि त हो, तर समग्र हुँदै होइन । हिन्दू सामन्तवादका मूल्य–मान्यतामा आधारित सामाजिक, आर्थिक र साँस्कृतिक संरचना अहिले पनि कायमै छन् । हामीले बुझ्दै आएको कुरा सर्वहारावर्गको अग्रिम दस्ता कम्युनिष्ट पार्टी हो । नेपालको सन्दर्भमा कथित कम्युनिष्टहरु मुक्तिका नाममा अवसर हात पार्न छिनाझप्टी र पद लोलुपता प्रदर्शन गरेको देख्दा दक्षिणपन्थी नव संशोधनवादी अवसरवाद र आत्मकेद्रिन्त व्यक्तिवादका केन्द्रीत छ ।” उनै परियारसँग वर्गीय क्रान्तिले गरेको कुराकानीमा आधारित अंश यसपटकको अन्तर्वार्ता श्रृङ्खलामा…

केमा व्यस्त हुनुहुन्छ ?
पार्टी क्रान्तिको लागि सङ्घर्षको तयारीमा जुटिरहेका छौं ।

वर्तमान राजनीतिलाई कसरी लिनुभएको छ ?
वर्तमान सत्ता राजनीति भ्रष्ट, दलाल, नोकशाही पूँजीपतिहरुको हातमा फसेको छ । यही अवस्थामा देश र जनताको मुक्ति सम्भव छैन् । जनविरोधीहरु निरपेक्ष एकताको कुरा गरिहेका छन् । जुन विज्ञान सम्मत छैन् । एकता सापेक्ष हुन्छ, निरपेक्ष त सङ्घर्ष मात्र हुने गर्दछ । आम जनताले यो विज्ञानको नियम नबुझ्नाले राजनीतिक दलहरुले जनताका एजेण्डा एक पछि अर्काे छोड्दै गइरहेका छन् । आन्दोलनको उपलब्धिहरु एकपछि अर्को गरी गुम्दै गइरहेका छन् । जनताको अधिकारसँग बार्गेनिङ् गर्ने अति महत्वाकाङ्क्षी पार्टी र व्यक्तिहरु हावी हुँदै गइरहेका छन् । यो अवस्था लामो समय रहिरहन सम्भव छैन् ।

तपाईंहरुलाई पार्टी फुटको औचित्य पुष्टि गर्न हम्मे हम्मे परेको हो ?
प्रश्न स्वाभाविक नै हो । फुटको औचित्य पुष्टि हुन समय लाग्छ । अवसरवादीहरुले पार्टी फुट्नु हुँदैन, कमजोर भयो बर्बाद भयो, ठूलो पार्टी सानो भयो, सहिदका सपना साकार नहुने भयो, जनतालाई धोका भयो आदि आदि भ्रमपूर्ण प्रचार गर्दै जनतालाई गुमराह बनाइँदैछ । अर्काेतिर अति श्रद्धावाद र देवत्वकरण गरिएको गैरमाक्र्सवादी चिन्तन प्रवृत्तिको सहारा लिएर प्रचण्ड बिनाको माओवादी ध्वस्त हुन्छ, आकाशै खस्छ पातालै धसिन्छ भन्ने जसरी अति रञ्जित प्रचार पनि भैरहेका
छन् । एमाले र कांग्रेस सङ्घीयताबाट झस्केर पछि हटेको छ । महिला, दलित, मुस्लिमलाई विशेषाधिकार कसको अधिकार काटेर दिने ? जस्ता गैरजिम्मेवारी अभिव्यतिm आइरहेका छन् इतिहासलाई पल्टाएर हेर्दा हुन्छ जनताले हारेको इतिहास कहाँ छ ? त्यसकारण जुझारु क्रान्तिकारीहरुले अबिचलित भई यसको पष्टि गर्नेछन् ।

तपाईंको पार्टीभित्र असन्तुष्टिको स्वरहरु सुनिन थालेको छ नि ?
हाम्रो पार्टीमा परिवर्तनमा लाग्नेहरु अत्यधिक रहेकाले असन्तुष्टि अस्पष्टता गर्दा हुनसक्छ ।  यसलाई द्वन्द्ववादी भएर हेर्नु पर्दछ ।
अन्तरसङ्घर्ष वा दुईलाइन सङ्घर्ष पार्टीको जीवन हो । दुईलाइन सङ्घर्ष मैत्रीपूर्ण ढङ्गले चलाउनु पर्दछ ।

पार्टी कसरी अधि बढ्छ ?
राज्य जसरी प्रस्तुत हुन्छ त्यही अनुसार हाम्रो पार्टी अघि बढ्छ । राज्यले हाम्रो सङ्घर्षलाई दमन ग¥यो भने हामी चुप लागेर बस्दैनौं । विगतमा गरिब जनता र बस्तीलाई टार्गेट बनायो । नकारात्मक घटनाले जनयुद्ध र दलित समुदायलाई सकारात्मक दिशा निर्देश गरेको थियो । लाखौं दलित युवा–युवती जनयुद्धमा लामबद्ध हुन पुगे । जनसत्ता स्थापना, जनअदालत, जनताको आफ्नै सेना जनमुक्ति सेना निर्माण भयो । छुवाछुत जस्तो अमानवीय प्रथा र परम्परा तीव्र रूपमा उन्मूलन हुँदै गइरहेको थियो । ठीक त्यतिबेलादेखि पुँजीपन्थी चिन्तन प्रवृत्तिले पार्टीभित्र शीर उठाउन थाल्यो ।

जनमुक्ति सेनालाई घुमाउरो तरीकाले आत्मसमर्पण गराइयो ।  लोकतन्त्रको अभ्यास गर्ने बुर्जुवा संसदवादको उच्चतम थलो पहिलो संविधानसभाको पनि अन्त्य गरियो । संविधानसभा–२ गफ गर्ने अखडा बनेको छ । खसीको टाउको झुण्डाएर कुकुरको मासु बेच्ने दुकान, हात्तीको देखाउने दाँत सिद्ध भएको छ ।

संविधानसभा बिघटनको आरोप प्रत्यारोप एकअर्काेमाथि लगाउँदै पानीमाथिको ओभानो बन्ने नाटक गर्दै छन् । तर जनताले यी नाटकका पात्रहरूलाई राम्रोसँग चिनिसकेका छन् । त्यसकारण आन्दोलनको विकल्प छैन् । यस्तो अवस्थामा हामी राज्य जसरी प्रस्तुत हुन्छ त्यही अनुसार अघि बढ्छौं ।

माघ ८ पछि बिप्लव माओवादीले के के नै गर्छ जसरी प्रचार भएको थियो तर तपाईंहरु चुपचाप हुनुहुन्छ, आन्दोलन कता पुगेको छ ?
कसले के भन्यो भन्दा पनि नेकपा माओवादी पार्टी मात्र यस्तो पार्टी हो, जसले सारा शोषण, वर्गीय उत्पीडन विरुद्ध आवाज बुलन्द गरिरहेको छ । वर्गीय मुक्ति विना अन्य मुक्तिले पूर्णता नपाउने भएकाले क्रान्तिकारी कम्युनिष्ट पार्टीको बैचारिक नेतृत्व आवश्यक पर्दछ । पार्टीलाई क्रान्तिकारी बनाई राख्नका लागि माक्र्सवाद, लेनिनवाद र माओवादको सैद्धान्तिक पथप्रदर्शन र क्रान्तिकारी कार्यदिशा, साङ्गठनिक सिद्धान्त र कार्यशैली अबलम्बन गर्न आवश्यक हुन्छ । हामी देशघाती, जनघाती विरुद्ध भण्डाफोर गर्दै अघि बढ्दैछौं । बाहिर प्रचार गरे जस्तो होइन् ।

मध्यम वर्गलाई लिएर गर्ने एकीकृत जनक्रान्ति कस्तो हुन्छ ?
पार्टीको सम्मेलनले जनसत्ता स्थापना गर्नुका साथै जनक्रान्तिका लागि अहिलेको संक्रमणकालको अन्त्य भएको घोषणा गर्दै मध्यम वर्गका जनतलाई साथमा लिएर जनक्रान्ति गर्ने निश्कर्ष समेत निकालेको छ । पूँजिपति वर्ग र दलालहरुको अन्त्य जनक्रान्तिबाट मात्र सम्भव छ । विगतमा आन्दोलनको नेतृत्व उत्पीडित वर्गको नाममा मध्यम वर्गले नै गरेको थियो तर अहिले हामीले भन्दा तरङ्ग आएको छ, फरक यति हो । हामीले भनेको चाहिँ आन्दोलनमा मध्यम वर्गको लगानी र सहभागिता रहन्छ तर नेतृत्व सर्वहारावर्गको हुन्छ ।  पहिले जस्तो गाउँबाट शहर घेर्ने अर्थात् एक ठाउँ आक्रमण गरेर अर्को ठाउँ लुक्न जाने नीति बदलिएको छ । गाउँ र शहरमा आफ्नो पकड जमाउने खालको क्रान्तिको स्वरुप निर्माण भएको छ । आवश्यकता परे जनसत्ता, जनअदालत सबै बन्नेछन् ।

पहिचानसहितको संघीयताले संविधान नै नआएको अवस्थामा संघीयता सम्बन्धमा तपाईंको पार्टीको धारणा ?
संघीयता हुनुपर्दछ तर राज्यको नाम जातका आधारमा नराख्ने निर्णय भएको छ । जातका कारण देशमा बिखण्डन आउन सक्ने खतराप्रति सचेत हुँदै यस्तो नीति लिइएको हो ।

अन्त्यमा,
यहाँका दलाल पुँजीपति मुख्य दुश्मन हुन् । भारतीय विस्तारवाद नेपालमा जनताले अधिकार प्राप्ति गरोस् र शान्ति होस् भन्ने चाहेको छैन् । त्यसकारण सत्ताभन्दा पनि दलाल पुँजीपतिको भण्डाफोर गर्दै अघि बढ्दा राज्यको प्रतिक्रियाका आधारमा थप योजना निर्माण गर्ने  हो । साथै, पहिलो चरणमा भ्रष्टाचारलाई मुख्य मुद्दा बनाएर आन्दोलन थाल्ने योजना तय भएको छ । ०५२ सालभन्दा अहिले क्रान्तिको समय अनुकूल छ ।  वैदेशिक हस्तक्षेप स्वीकार्ने, गलत तरिकाले आर्थिक लाभ लिने, मध्यम वर्गलाई ठगेर धनी बन्ने, पुँजीपतिको चाकडी गरेर सत्तामा टिक्ने जस्ता व्यक्ति, जग्गा दलाल, वैदेशिक रोजगारका दलाल, कालोबजारी गर्ने व्यापारी र सत्तामा बसेर आर्थिक लाभ लिनेहरूलाई छाड्नु हुँदैन । पुष्पकमल दाहाल, मोहन बैद्य, बाबुराम भट्टराइ जस्ता अगुवा नेताले क्रान्तिलाई बीचमै छोडेकाले पुनःक्रान्तिको झण्डा उठाउनु परेको हो । असी प्रतिशत भूभाग जितेको माओवादीले सत्ता साझेदारीमा सोहीअनुसारको भाग पाउनुपर्नेमा दाहालले त्यसमा ध्यान दिन नसकेको कारण बिना उपलब्धि युद्ध र सेना बिसर्जन भयो । त्यसकारण सहिदको सपना पूरा गर्नुछ । नेताहरूको गद्दारी दोहोरिनु हुँदैन । क्रान्ति पूरा गर्न हामी फेरि बलिदानी गर्न तयार छौं । अन्तमा, देश र जनताको मुक्तिका लागि फेरि पनि एकाकार भई आन्दोलनमा लाग्न छरिएर रहेका सबै पार्टीमा क्रान्तिकारीहरुलाई आग्रह गर्न चाहन्छु ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत