यु–१९ विश्वकप क्रिकेटमा न्युजिल्यान्ड नेपालसँग पराजित

U-19-Cricket-Team

१४ माघ, काठमाडौं । नेपालले आइसिसी यु–१९ विश्वकप क्रिकेटअन्तर्गत पहिलो खेलमा न्युजिल्यान्डलाई ३२ रनले पराजित गरेको  छ ।

नेपालले दिएको २३९ रनको लक्ष्य पछ्याएको न्यूजिल्याण्ड २०६ रनमा अल आउट भएको थियो । नेपालका लागि दिपेन्द्र ऐरीले सर्वाधिक तीन विकेट लिए । ऐरीले पाँच ओभरमा २४ रन खर्चेका थिए ।

टस हारेर पहिलो ब्याटिङ गरेको नेपालले पूरा ५० ओभर खेलेर सात विकेट गुमाउदै २ सय ३८ रन बनाएको थियो । नेपालका लागि कप्तान राजु रिजालले सर्वाधिक ४८ रनको योगदान दिए । उनले ६५ बल खेल्दा ६ चौका प्रहार गरे । कप्तानलाई बलियो साथ दिँदै आरिफ सेखले ६० बलमा ३९ बनाए । उनको इनिङमा ३ चौका सामेल थियो ।

सन्दिप सुनार र सुनील धमलाले पहिलो विकेटका लागि ३९ रनको साझेदारी गरेका थिए । सुनील १५ र  सन्दिप ३९ रनमा आउट भए । तेस्रो नम्बरमा आएका योगेन्द्रसिंह कार्कीले ५ रन मात्र जोडे ।

राजवीर सिंह, दिपेन्द्र ऐरी र कुशल भुर्तेलले क्रमशः २४, १६ र ३५ को योगदान दिए । अन्तिम ओभरहरुमा कुशलको आक्रामक ब्याटिङले नेपाललाई सम्मानजनक योगफल दिलाएको हो ।

नाथन स्मिथले न्यूजिल्याण्डका लागि सर्वाधिक ३ विकेट लिए । उनले १० ओभर बलिङ गर्दै ४८ रन खर्चेका थिए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत