प्रचण्डले हल्ला गरे जस्तो माओवादी पार्टीहरुको तत्काल एकता नहुने !

सोम बहादुर थापा

५ फागुन, काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सार्वजनिक कार्यक्रमहरुमा माओवादीहरु पार्टी एकता हुँदैछ भनेर अभिव्यक्ति दिए पनि उनले भने जस्तो माओवादी पार्टीहरु तत्काल एकता नहुने पक्का भएको छ ।

गत फागुन १ गते २१औं जनयुद्ध दिवसको अवसरमा माओवादीहरुको सके पार्टी एकता गर्ने यदि सम्भव नभए कार्यकर्ता र आम जनतालाई एउटा सन्देश दिने किसिमले संयुक्त कार्यक्रम गर्ने हल्ला बाहिर प्रचार भए जस्तो  सत्य नरहेकाले माओवादी पार्टीहरुको एकता तत्कालका लागि टाढिएको हो ।

स्रोतका अनुसार केही दिन अघि मात्र पार्टी एकताका लागि एमाओवादी अध्यक्ष प्रचण्डले क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यलाई एकता प्रक्रियाका लागि एउटा लिखित प्रस्ताव नै बुझाएका थिए । सो प्रस्तावमाथि क्रान्तिकारी माओवादीले केन्द्रीय तहमा छलफल गरेपछि सो पार्टीबाट तीन थरी कुरा सतहमा आएका छन् ।

पहिलो कुरा : वैद्य माओवादीका उपाध्यक्ष सिपी गजुरेल र सचिव देव गुरुङ्ग लगायतका केही नेताहरु तत्काल गरिने एकताको विपक्षमा उभिएका छन् ।

दोस्रो : प्रवक्ता पम्पा भुषाल, नेता सोनाम र हितमान शाक्य लगायत नेताहरु तत्काल पार्टी एकता गर्नु पर्ने पक्षमा देखिएका छन् ।

तेस्रो :  अध्यक्ष किरण लगायतका नेताहरु सिद्धान्तबिनाको एकता गर्नुको औचित्य नहुने निष्कर्ष निकाल्दै फेरि एकता नै गर्नु हुँदैन भन्ने कुरा पनि समय सान्दर्भिक नभएको भनेर बिच बाटोमा उभिएका छन् ।

नेकपा (माओवादी)का संयोजक मातृका यादवले माओवादीहरु बिचमा हुने एकताको आफू विरोधी नभएको बताइरहेका छन् । तर, यादवले एमाओवादी लगायत अन्य माओवादी नेताहरुको मधेशलाई हेर्ने दृष्टिमा एकरुपता नभएको भन्दै मण्डले राष्ट्रवाद र खस–गोर्खाली अहंकारवादकै कारण एकतामा समस्या उत्पन्न भएको बताउँछन् । उनले यतिबेला माओवादीहरु बिच निःसर्त एकताको हल्ला चलेको तर आम उत्पीडित वर्ग र राष्ट्रियताको मुक्ति पार्टी एकताका लागि आफ्नो पार्टीको सर्त रहेको बताएका छन् ।

‘पार्टी एकताका लागि कम्तीमा संयुक्त मोर्चा वा कार्यगत एकता हुनु पर्दैन ?’ यादवले प्रश्न गर्दै भने– ‘हामी पार्टी एकता गर्न तयार छौं तर माओवादी नेताहरु मधेशबारेको बुझाईमा स्पष्ट हुनैपर्छ ।’

यसैगरी क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका महासचिव मणि थापाले यतिबेला माओवादीहरु बिच एकता आवश्यकता रहेको औंल्याएका छन् । उनले नयाँ संविधानलाई प्रगतिशील भन्दै प्रचण्डले लिएको निर्णय र अडानको सर्मथन समेत गरेका छन् ।

‘नेपालमा नयाँ संविधान जारी भएपछि उक्त संविधानको समर्थन नगरेर भारतले अघोषित नाकाबन्दी नै गरेकाले पनि यो संविधान विदेशीको निर्णय र योजनामा भएको छैन्’ भन्दै महासचिव थापाले भने– ‘त्यसकारण पनि यो संविधान प्रगतिशील छ ।’

यसैगरी महासचिव थापाले संघीयता, धर्म निरपेक्षता, गणतन्त्र लगायतका विषयविस्तु संविधानमा समेटिएकाले पनि अर्को कोर्शमा जान  माओवादीहरु बिच एकता हुनु पर्ने बताएका छन् ।

नेत्र विक्रम चन्द ‘विप्लव’ माओवादीका धर्मेन्द्र वास्तोला लगायत केही नेताहरु माओवादी पार्टीहरु एक भएर अघि बढे मात्र जनयुद्ध र जनआन्दोलनको उपलब्धि संस्थागत हुने तर्क गरिरहेका छन् । यद्यपि, सो पार्टीका एउटा समूह एमाओवादीसँग हुने पार्टी एकताले माओवादी आन्दोलन नै समाप्त हुने भन्दै सशक्त संघर्षको बाटो छाडेर दाँया–बाँया गर्नु भनेको सहिद, वेपत्ता, घाइते, अपाङ्ग साथै देश र जनताप्रति नै धोका हुने भन्दै दोस्रो जनयुद्ध थाल्नु पर्ने बताइरहेका छन् ।

एमाओवादीबाट केही समय अघि मात्र अलग भएर नयाँ शक्ति निर्माण अभियानमा लागेका डा.बाबुराम भट्टराई लगायतका समूह मालेमावाद भन्दा भिन्न बाटो हिँड्ने कोशिस गरिरहेका छन् । उनलाई माओवादी पार्टी एकताको कुनै प्रकारको हावा लाग्दैन, भन्छन् उनलाई नजिकबाट चिन्ने जानकारहरु ।

डा.बाबुराम भट्टराईलाई नजिकबाट पढेकाहरु भन्छन्– ‘भट्टराई स्वयं प्रधानमन्त्री हुँदा पहिलो संविधान सभाबाट प्रगतिशील संविधान बन्ने अवस्था थियो तर उनले परिर्वतन नचाहेकाले नै पहिलो संविधान सभा बिघटन गराए । दोस्रो संविधान सभामा जिम्मेवार समितिको सभापति बनेर सहीछाप ठोकेर जनविरोधी संविधान जारी गर्ने अनि संविधान सभा हल बाहिर आएर गोहीको आँशु चुहाउनुको कुनै अर्थ नै छैन् ।’

माओवादी पार्टी एकता दबाब अभियान गठन गरेर माओवादी पार्टीहरुको एकताको लागि भन्दै दवाव अभियानमा निस्किएका अभियन्ताहरु र सबैभन्दा पहिले निःसर्त पार्टी एकता गर्नुपर्दछ । त्यसपछि मात्र रुपान्तरण लगायतका विषयवस्तु टुङ्ग्याउनु पर्दछ भन्दै आइरहेकी जयपुरी घर्ती पनि पछिल्लो समय माओवादीहरुको टुटफुटलाई देखेर चिन्तित बनेकी छिन् ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत