खसवादी मानसिकता भनेर सबै बाहुन या क्षेत्रीलाई गाली गरेका होइनौं । त्यस्ता सोच राख्ने सिमित व्यक्तिहरुलाई भनेका हौं – राजेन्द्र महतो

सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतो यसो भन्छन् :

९ फागुन, काठमाडौं । आन्दोलनको स्वरूप परिवर्तनको विषयमा मोर्चाका अन्य साथीहरू पनि बोलेकै थिए, मैले पनि बोलेँ । के अनर्थ गरेँ र मैले ? एक महिनाअघिदेखि महन्थजी, उपेन्द्रजी र महेन्द्रजीले बोल्नुभएकै हो । मिडियाले पनि त्यसलाई प्रचार गरेकै हो । उहाँहरूले बोल्दा खुलेन, मैले बोल्दा फ्याट्टै खुल्यो । यस्तो किन भयो भने नाकाबन्दी गर्न सबैभन्दा बढी म नै खटेको थिएँ । अन्य नेता काठमाडौंमा हुँदा म मधेसमा थिएँ । त्यसमाथि बन्द भएको एउटै नाका मेरो नेतृत्वमा थियो । मैले बोल्ने बित्तिकै उक्त नाकामा असर पर्नु स्वभाविक नै हो ।

सीमा अवरोधको कार्यक्रम ल्याउँदा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाभित्र हामीले कार्यविभाजन गर्यौं । उपेन्द्र यादवको संघीय समाजवादी फोरम नेपालले विराटनगर, हाम्रो सद्भावना पार्टीले वीरगञ्ज, महन्थ ठाकुरको तराई मधेस लोकतान्त्रिक पार्टीले भैरहवा र महेन्द्र राय यादवको तराई मधेस सद्भावना पार्टीले अन्य साना नाकाहरूको जिम्मा पायो । हामीले लगातार सीमा अवरोध गर्यौं । तर, वीरगञ्ज नाकाबाहेक अन्य नाकाहरू ठप्प हुन सकेन ।
आन्दोलनमा जनताले तीनवटा कुरा भनेका छन् । एउटा वार कि पार – आन्दोलनको लक्ष्य प्राप्ति नभएसम्म आन्दोलन चलिरहन्छ । दोस्रो, अभी नही तो कभी नही – यो आन्दोलनबाट अधिकार लिनै पर्छ नत्र कहिले अधिकार लिन सकिन्न । अहिले पाएनौं भने कहिले पनि पाउँदैनौं । र तेस्रो, आन्दोलनको अन्त्य उधारोमा होइन नगदमा यानी आन्दोलन सम्झौतामा मात्र होइन, नतिजासहित अन्त्य हुनेछ ।
म सर्वप्रथम काठमाडौं केन्द्रीत मिडियालाई सबैको बन्न आग्रह गर्न चाहन्छु । कुनै अमुक वर्ग र वादको पछि नलागेर सबैको आवाज निष्पक्षरुपमा उठाइदिनुहुन आग्रह गर्दछु । केही सिमित मिडियाहरु खसवादी मानसिकताबाट सञ्चालित छन्, त्यसले समस्याको समाधान गर्न सक्दैन ।
गैरमधेसी जनतालाई के आग्रह गर्न चाहन्छु भने यो आफ्नै देशको जनताले देशमा अधिकार माग्नका लागि गरेको आन्दोलन हो । यसलाई अन्यथा नलिदिनुहोला । यो आन्दोलन देश टुक्राउनका लागि होइन, देशका सबैजनताले समान अधिकार पाओस् भनेर हो । मधेसका जनता राष्ट्रघाती होइनन् । सत्तामा रहेकाहरुलाई उत्पीडनमा परेका उत्पीडनमा परेका मधेसी, जनजाती, आदिवासी र थारुलाई अधिकार दिलाउनका लागि झक्झकाइदिन आग्रह गर्दछु । हामीले खसवादी मानसिकता भनेर सबै बाहुन या क्षेत्रीलाई गाली गरेका होइनौं । देशको नीति निर्माण तहमा बसेर त्यस्ता सोच राख्ने सिमित व्यक्तिहरुलाई मात्र भनेका हौं । हामीले नश्लवादलाई बढाउन होइन त्यसलाई अन्त्य गर्न चाहेका हौं ।
त्यस्तै मधेसी जनतालाई के भन्न चाहन्छु भने अहिले हामी न हारेका छौं न थाकेका छौं । हामी अन्तिम लडाईंको तयारीमा छौं । यदी सरकारले यो सही समयको उपयोग गर्न सकेन भने तपाईंहरु निर्णायक आन्दोलनका लागि तयार रहनुहोला । रातो पाटीमा खबर छ ।
  •  
  •  
  •  
  •  
  •  

तपाइको मत